काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।
ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको हो ।
अनुगमनमा गएको महानगरको टोलीले राहदानी विभागको बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको हो।
राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्ने गरेको भएपनि विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको थिएन । जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।
विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ ।