
काठमाडौं । केही दिन यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नियम विपरित बनाईएका भौतिक संरचना हटाउने अभियान नै चलाईरहेका छन् ।
उनको अभियानमा आम नागरिकका तर्फबाट स्वागत र समर्थन प्राप्त भएपनि स्वार्थ जोडिएका व्यापारि तथा राजनीतिक दलका तर्फबाट भने विरोध आउन थालेको छ ।
धरानका मेयर हर्क साम्पाङका विरुद्ध एमालेका स्थानीय नेताहरुले अभियान चलाएको चर्चा चलिरहेका बेला काठमाडौंका मेयर बालेनको अभियानमा समेत नेकपा एमाले जोडिएको छ । मेयर बालेनले आज बानेश्वर, शंखमुल क्षेत्रका नक्सा पास विपरितका संरचनामा डोजर लगाए । त्यसैमध्येमा परेको थियो, अल्फ बिटा कम्प्लेक्स । सो कम्प्लेक्सका संचालक नेकपा एमाले नजिकका व्यापारि भएको खुलेको छ ।
एमाले युवा नेता महेश बस्नेतले नै उनै व्यापारिको पक्षमा सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । मेयर बालेनको कदमलाई सन्की र लहडी आतंकको संज्ञा दिदै नेता बस्नेतले लेखेका छन्, बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको ?
१.नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?
२. हामी संग नजिक भएर या फोटो लिएको कारण ?
पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौ ।’