रोल्पाको परिवर्तन गाउँपालिकाले करारमा कार्यरत कर्मचारी नहटाउने

काठमान्डौं,यतिबेला नयाँ जनप्रतिनिधि निर्वाचित भएर आइसके पछी अधिकांश स्थानीय तहमा करारमा कार्यरत कर्मचारीहरु हटाउने होडबाजी नै चलेको छ । तर रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नो पालिका भित्र कार्यरत करार कर्मचारी नहटाउने भएको छ । अहिले परिवर्तन गाउँपालिकामा शिक्षा, स्वास्थ्य तथा पालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरु करारमा नियुक्ति भएर काम गर्दै आएको हुँदा कर्मचारी हटाउने पक्षमा अहिलेसम्म विषय पनि नउठेको र छलफल पनि नभएको परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढा मगरले जानकारी दिए ।

साथै आफूहरूले करार कर्मचारी हटाउने भने पछी मात्र एजेन्डा उठ्ने बताउदै बुढा मगरले भने ‘हामीले करार कर्मचारीको कार्यसम्पादन आधारमा कामै नगर्ने त किन पो रहला र करार भनेकै ६/६ महिनामा त्यसको करार सम्झौता तथा नवीकरण हुने हो ।’ त्यसैगरी करार कर्मचारीहरुको २०८९ का लाई श्रावण महिनाको अन्तिम देखि नवीकरण सुरु हुने समेत बताए ।

यस्तै गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुलाई उत्प्रेरित र मनोबलका साथ कार्य सम्पादन गर्नका लागि आर्थिक वर्ष २०७९/८०देखि लागु हुने गरि सबैको तलबमा समान १ हजार ५ सयका दरले वृद्धि हुने व्यवस्था गर्ने छ । गाउँपालिकामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारीहरुको लागि कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ताको समेत व्यवस्था गर्ने छ । साबिकमा उपलब्ध गराउदै आएको खाजा भत्तालाई निरन्तरता दिने छ भने प्राविधिक कर्मचारीहरुको लागि उपलब्ध गराउदै आएको फिल्ड भत्तालाई समेत निरन्तरता दिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस