लागू औषध सहित रोल्पामा एक महिला पक्राउ

राेल्पा । प्रतिबन्धित लागू औषध सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको लुङग्री गाउँपालिका –६ घर भई हाल सुनिलस्मृति गाउँपालिका –६ रुईनिबाङमा झरना नास्ता पसल संचालन गरि बस्ने ३० वर्षिया झलमली बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुढाथोकीले संचालन गरेको नास्ता पसलमा मङगलबार अपरान्ह करिब ४ बजेतिर खानतलासी गर्दा बुढाथोकीकै शरिरबाट ११ पुरिया २४० मिलिग्राम ब्राउन सुगर र ६४ ग्राम चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

पक्राउ परेकि बुढाथोकी माथि लागू औषध कारोबार तथा ओसारपसार कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस