माघ १५ गतेसम्मका लागी विद्यालय बन्द,सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जनाइन् । भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ ।

साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ । परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ । २०७८ सालमा आएको स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजान डीसीसीएमसीलाई आग्रह गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आज सीसीएमसी बैठक बसेको थियो ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस