एसईई परीक्षा वैशाखमा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ ।

कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले चैतमा हुने परीक्षा एक महिना ढिलो गरी एसईईकाे तयारी गरिएको हो ।

सबै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले वैशाखमा एसईई लिने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताए ।

संसदीय समितिले यसअघि एसईई परीक्षा ‘खारेज गर्न’ सुझाव दिए पनि विज्ञहरूले कुनै पनि शैक्षिक तहको परीक्षा खारेजभन्दा परिमार्जन गर्न उपयुक्त हुने सुझाव दिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको र चाँडै बोर्ड बैठक बसेर निर्णय गरेर सूचना सार्वजनिक गरिने बताए ।

मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७९ को पठनपाठन वैशाखमै सुरु गर्ने तयारी गरेको जनाएको छ । त्यसनिम्ति कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ प्रक्रिया चलिरहेको छ । विद्यालय तहमा ७२ लाख जति विद्यार्थी पढ्छन् । नियमानुसार शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि पाठ्यपुस्तक छापिइसक्नुपर्छ ।

कोरोना महामारीका कारण दुई वर्षयता भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गरिँदै आए पनि आर्थिक अवस्था कमजोर रहेका तथा दुर्गम भेगका विद्यार्थीमा पहुँच विस्तार हुन सकेको छैन । देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको छ । गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस