एमालेका रोल्पा सचिव रोकाको निधन

नेपाल कम्युनिस्ट पार्टी एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ। त्रिवेणी गाउँपालिका २ नुवागाउँका ४७ वर्षीय रोकाको बुधबार राति पौने ९ बजे निधन भएको हो।

पुस २३ गतेदेखि नुवगाउँमा हुने एमालेको छैठौं जिल्ला अधिवेशनको तयारीमा खटिरहेका रोकाको निधन भएको हो। रोकाको निधनले पार्टीलाई ठूलो क्षति पुगेको एमाले जिल्ला कमिटी अध्यक्ष बालाराम बुढामगरले बताए ।

अध्यक्ष बुढामगरले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘जिल्ला अधिवेशनको लागि मन्च व्यवस्थापनमा दिनभर खटिएर बेलुका घर गएका सचिव रोकाको छाती बढी दुखेपछि स्थानीय स्वास्थ्य संस्थामा लैजादै थिए । प्रवेशद्वार पुग्दै गर्दा निधन भयो।’, अध्यक्ष बुढामगरले भने, ‘बिहानदेखि नै उहाँको छाती दुखेको रहेछ। तैपनि काममै व्यस्त हुनु भयो।’

विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गरेका रोकाले एमालेमा निरन्तर सक्रिय राजनीति गर्दै आएका थिए। पछिल्लो समय पार्टी विभाजन पश्चात् जिल्ला सचिवको जिम्मेवारीमा थिए। सचिव रोकाको निधन भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको छ। ‘सिंगो पार्टी नेता, कार्यकर्ता शोकमा रहेकाले अर्को मिति तय नहुँदासम्म अधिवेशन स्थगित गरेका छौँ।’, अध्यक्ष बुढामगरले भने रोकाको बिहीबार दाहसंस्कार गरिएको छ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस