काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अर्को साता तय गरिएको छ । देउवा प्रधानमन्त्री भएपछिको यो पहिलो भारत भ्रमण हो।
प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। देउवा पुस २६ गते भारत भ्रमणमा जाने तयारी भइरहेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री देउवालाई ‘गुजरात भाइब्रेन्ट’ कार्यक्रममा सहभागी हुन निम्तो आएको थियो। देउवाले भारतमा रहँदा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ। स्रोतअनुसार द्विपक्षीय हितबारे प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी हुने छ। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा को–को सहभागी हुनेलगायत भ्रमणका तयारी परराष्ट्रले थालिसकेको छ। गत असारमा पाँचौं पटक प्रधानमन्त्री भएपछी देउवा पहिलो विदेश भ्रमणका रूपमा कोप–२६ मा सहभागी हुन बेलायत गएका थिए।