पाठ्यक्रम निर्माण गर्दै तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्य सुरु गरेको छ । स्थानीय विषयवस्तुहरूलाई समेटेर पाठ्यक्रम निर्माण कार्य सुरु भएको हो । पाठ्यक्रम निर्माण भएपछि शैक्षिक सत्र २०७९ देखि उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पढाइ सुरु हुनेछ ।

कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताउनुभयो । उपमहानगरपालिकाको भौगोलिक तथा जनसंख्याको अवस्था, भाषा, संस्कृति, परम्परा, चाडपर्व, जातजाति, भेषभूषा, धर्म, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र, वातावरण, ऐतिहासिक तथा सांस्कृतिक संरचना, पर्यावरणीय सचेतना तथा प्राकृतिक तथा मानवजन्य प्रकोप न्यूनीकरण र विपद् व्यवस्थापनलगायतका विषयहरू पाठ्यक्रममा समावेश हुनेछन् ।

त्यस्तै, शैक्षिक अवस्था, संरचनागत धारणा, पेसागत धारणा तथा सामाजिक रहनसहन र मूल्यमान्यता, कृषि व्यवसाय तथा पशुपंक्षी पालन, परम्परागत चिकित्सा एवं प्राथमिक उपचार विधि, उद्योग एवं कलकारखाना, खेलकुद, सञ्चार प्रविधिलगायतका विषयमा पनि पाठ्यक्रममा समावेश हुने भएका हुन् ।।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस