गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबाट किन पछि हटे धुर्मुस-सुन्तली ?

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेशन पछि हटेको छ ।फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो ।

आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भएअनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।

फाउण्डेशनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, “फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ ।”

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताउनुभयो ।

यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । यस सम्बन्धमा युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताउनुभयो । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो ।

उहाँका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं ।” भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको हो । फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । उहाँले थप्नुभयो, “रङगशाला सम्पन्न हुन्छ ।”फाउण्डेशनले रु १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेशनले पेश गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ । यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकूद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो । सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पु¥याएर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिने बताउनुभयो ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रङगशाला निर्माणको काम हुनसकेको छैन । उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको हो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आउनु भएको थियो ।उहाँले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताउनुभयो ।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ । रङ्गशालामा अहिलेसम्म रु ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो । रङ्गशाला सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ । रङगशालाको विसं २०७५ माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस