काठमाडौं । पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले पदीय मर्यादा विपरित व्यवहार गर्ने नेपाल पर्यटन बोर्डका सिइओ डा.धनन्जय रेग्मीलाई निलम्बन गरेका छन् । रेग्मीलाई कारबाही अघि बढाउन अटेरी गर्ने पर्यटन सचिव यादव कोईरालाई मन्त्री आलेले हाटाएपछि नयाँ सचिवले कारवाही प्रकृया अघि बढाएका हुन् ।
नेपाल पर्यटन बोर्डको शुक्रवार बसेको बैठकले रेग्मीमाथि छानविन गर्न समिति गठन गरेसँगै निलम्बनमा परेका हुन् । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिका दुई सदस्य मन्त्रालयबाट तोकिने स्रोतले जनाएको छ । रेग्मीले बेलायतबाट फर्कंदा रक्सीले मात्तिएर विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो । यस अघिका सचिव कोईरालाले रेग्मीसँग मिलेर स्पष्टिकरण पत्रनै मन्त्रीलाई नबुझाई गायब बनाएका थिए । उनीमाथि अन्य आरोपहरु समेत लागेपछि बोर्ड बैठक बसेर छानविन समिति गठन भएको हो । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् ।
उनको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाएकी छन् । समितिले छानविनका क्रममा रेग्मी दोषी भेटिएमा बोर्डले उनलाई कारवाही गरेर हटाउनेछ । दुई वर्ष कार्यकाल बाँकी छदै विदेशबाट फर्कदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका थिए । रेग्मीलाई केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पर्यटनमन्त्री योगेश भटेटराईले २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त गरेका थिए।