रोल्पामा पहिलोपटक मिलन रोकामगरले गरे कालिज पालन सुरु

रोल्पा । रोल्पाको लिबाङमा एक युवाले आफ्नो एक्लो प्रयासमा व्यावसायिक कालिज पालन थालेका छन् । सानैदेखि कला क्षेत्रमा आबद्ध ३३ वर्षीय मिलन रोकामगरले २० लाख रुपैयाँ खर्चेर कालिज पालन सुरु गरेका हुन् ।

‘कृषि क्षेत्रमा व्यावसायिकता सुरु गरौं भन्ने उद्देश्यले कालिज पालन गरेको हुँ,’ उनले भने, ‘तर बजार अभाव र व्यावसायिकतालाई बुझ्ने व्यक्ति कम हुँदा लगानी डुब्ने हो कि भन्ने चिन्ता छ । तैपनि हरेश खाएको छैन ।’

राङ्कोट निवासी मिलन विगत १० वर्षदेखि लिबाङमै बस्दै आएका छन् । लामो समय गीत र संगीत क्षेत्रमा लागेका उनले अघिल्लो वर्षदेखि भने कालिज पालन सुरु गरेका हुन् । घरगाउँमा काम नभएपछि विदेश जानुपर्छ भन्ने अधिकांश युवाको धारणाका बीच आफूले चुनौतीको सामना गरेरै कालिज पाल्ने योजना अघि सारेको मिलनले बताए ।

‘केही नयाँ काम गरौं र आफैं आत्मनिर्भर बनौं भन्ने सोचेर ऋण काढेर कालिज पाल्न थालेको हुँ,’ उनले भने, ‘त्यसका लागि स्थानीय बालाराम डाँगीको करिब ५ हजार वर्गमिटर क्षेत्रफलको घर र जग्गा वार्षिक रूपमा भाडामा लिएर कालिज पाल्नका लागि स्थान व्यवस्थापन गरेको छु ।’

उनले बुटवलबाट कालिजका बच्चा ल्याए भने कालिज बस्ने, खेल्ने र चर्ने स्थान ढाक्ने जालीको घर पनि बनाए । लगभग १० लाख रुपैयाँ खर्चेर उनले कालिज पाल्ने संरचना निर्माण गरेका छन् ।

कालिज पालनलाई व्यावसायिकता दिन उनले जलजला कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेका छन् । उनको फर्ममा हुर्केका कालिज र टर्की तयार अवस्थामा छन् । उनले रोल्पा नगरपालिकास्थित पशु सेवा कार्यालयबाट प्राविधिक सहयोग लिइरहेको बताए । मिलनले एक सयजति टर्की जातका कुखुरा पनि पालेका छन् । कालिज र टर्की कुखुरा पालेर आफूजस्तै बेरोजगार युवालाई रोजगारको सुविधा दिने मिलनको योजना छ ।

युवाका लागि नयाँ काम गरेकामा उनका साथीभाइहरू पनि खुसी छन् । उनलाई नजिकबाट सहयोग गर्दै आएका युवा प्रकाश डाँगीले आफ्नै गाउँघरमा व्यावसायिक कृषि तथा पशुपालन व्यवसाय थाल्नु निकै राम्रो र उदाहरणीय काम भएको बताए । ‘उनीजस्ता युवाले आफ्नै गाउँघरमा कुनै नयाँ काम गर्न सके समाजले विकासमा फड्को मार्ने सम्भावना रहन्छ,’ उनले मिलनलाई हौस्याउँदै भने ।

मिलन लोकदोहोरी कला प्रतिष्ठानका जिल्ला अध्यक्षसमेत हुन् । रैथाने कला संस्कृति जोगाउने उद्देश्यले उनको नेतृत्वमा जिल्लामा विभिन्न सांस्कृतिक गतिविधिसमेत हुँदै आएका छन् । व्यावसायिक कुषि कर्मलाई समेत साथै अघि बढाउने योजना बुनेको उनले सुनाए । ‘कृषि कर्मलाई मुख्य जिम्मेवारीसाथ अघि बढाउने सोचेको छु,’ उनले भने, ‘तत्काल फर्म हेरचाह गर्ने असल व्यक्तिको पनि खोजी गरिरहेको छु ।’

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस