
दाङ । तुलसीपुरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एकै दिन दश जना पक्राउ परेका छन् । तुलसीपुर बजार र आसपासका क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित मंगलबार दश जना पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका चालक प्रहरी हवल्दार देबबहादुर बराइली नेतृत्वमा खटिएको प्रहरी टोलीले एकै दिन तुलसीपुर र आसपासका स्थानबाट उक्त परिमानमा ब्राउन सुगरसहित दश जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का २१ बर्षीय बिरबहादुर बिक, तुलसीपुर ८ कृष्णमन्दिरका २५ बर्षीय अमर गन्दर्भ, तुलसीपुर १ भम्केका ३३ का बिरबल बिरकट्टा, सल्यान जिल्लाको कुमाख गाउँपालिका २ खानीखोला घर भइ हाल तुलसीपुर ५ मा कोठा भाडामा बस्ने २८ बर्षीय बिरबहादुर चलाउने, तुलसीपुर १८ बेलझुण्डीका २३ बर्षीय कैलाश सुनार, सोही ठाउँकै २३ बर्षीय वशन्त राना, तुलसीपुर १ भम्केका २२ बर्षीय बिनोद भण्डारी, तुलसीपुर ५ का २४ बर्षीय देबिराज हल्वाई, तुलसीपुर ९ का २४ बर्षीय एकराज डाँगी र सोही ठाउँका २६ बर्षीय मानबहादुर बिकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
एक पछि अर्कौ गर्दै तुलसीपुरमा ब्राउन सुगरका कारोबारी र प्रयोगकर्ताहरु गरि एकै दिन दश जनालाई नियन्त्रणमा लिन आफु सफल भएको प्रहरी हवल्दार बराइलीले जानकारी दिए ।
केही दिन पहिले पनि बराईलीले तुलसीपुरमा एकै दिन चार जनालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गर्न सफल भएका थिए । पछिल्लो समय तुलसीपुर र घोराही जस्ता जिल्लाका प्रमुख सहरहरुमा लागु औषधको अबैध कारोबार बढेको यस्ले संकेत गरेको छ ।