हालका खोपले पनि ओमिक्रोनविरुद्ध काम गर्ने डब्लुएचओको भनाई

कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् ।

दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले यस्तो बताएको हो ।अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको बताएका छन् । तर डब्लुएचओका डा। माइक रायनले अहिलेसम्मका तथ्यहरुमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताए ।

अर्थात खोपले ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने उनको भनाइ छ । दक्षिण अफ्रिकामा भएको अनुसन्धानमा कोरोना भाइरसको सुरुको भेरियन्ट भन्दा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता ४० गुणा कम देखिएको छ । तर ओमिक्रोनविरुद्ध पनि काम गरेको भने देखिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस