पुरा होला प्रकृतिको बलिउडमा काम गर्ने सपना ?

प्रकृति श्रेष्ठ फिल्म ‘बिहे पास’ अभिनेत्री हुन् । यो फिल्ममार्फत उनले करिब ६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । ‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेकी श्रेष्ठ फिल्म प्रदर्शनसँगै हराएकी थिइन् । ‘बिहे पास’मा श्रेष्ठ अभिनेता दायाहाङको जोडी बनेकी छन् । जसको छायाँकन निषेधाज्ञा अगाडि सकिएको थियो । पछिल्लो समय अष्ट्रेलिया रहँदै आएकी उनी यो फिल्म अभिनयका लागि उतैबाट आएकी थिइन् । फिल्ममा उनी दयाहाङको श्रीमतीको रुपमा देखिँदैछिन् ।

अबका दिनमा अभिनयलाई निरन्तरता दिने सोचमा रहेकी श्रेष्ठको बलिउड अभिनयमा छिर्ने पनि सपना रहेको छ । एक प्रशंसकले इन्स्टाग्राममा सोधेको बलिउड कामको विषयको प्रश्नमा उनले यो कुरा खोलेकी हुन् । उनले भनेकी छन् ‘बलिउड इच्छा छ । तर मलाई थाहा छ कि यो मेरो सपना मात्र हो ।’

‘दर्पण छायाँ र ‘कल हो ना हो’ आफ्नो फेभरेट फिल्म भएको बताउने उनी उनको मनपर्ने कलाकार भने विक्रान्त मेस्सी र विक्की कौशल हुन् । इन्स्टामै एक प्रशंसकले उनलाई अभिनेत्री हुन मनपर्छ र ? भनेर समेत प्रश्न उठाएका छन् । जसको जवाफमा उनले अभिनय आफुलाई मनपर्ने र यसमै रमाउने बताएकी छन् ।

श्रेष्ठले केही अगाडि इन्स्टाग्राम मार्फत आफूले यौन उत्पीडनको सामना गरेको खुलासा गरेकी थिइन् । एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको प्रश्नमा उनले इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौन उत्पीडनको सामना गर्नु परेको बताएकी थिइन् । श्रेष्ठको नयाँ फिल्म ‘बिहे पास’ प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस