घोराही, जेठ २५ । राप्ती साहित्य परिषद् केन्द्रको ४९औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा घोराहीमा सम्पन्न भएको छ।
परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुधनकुमार पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा र प्राज्ञ डा. अमर गिरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले दाङमा साहित्यिक वातावरण निर्माण, प्रतिभा प्रस्फुटन तथा साहित्यकारहरूबीच सुमधुर सम्बन्ध कायम गर्न राप्ती साहित्य परिषद्ले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले साहित्यले समाजलाई जोड्ने काम गर्ने र राजनीतिले केही हदसम्म विभाजन गर्ने गरेको धारणा व्यक्त गर्दै समाज निर्माणमा साहित्यको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि नारायणप्रसाद शर्माले विगतका संघर्षपूर्ण दिनहरूको स्मरण गर्दै आगामी दिनमा सचेत, संगठित र एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अर्का विशिष्ट अतिथि डा. अमर गिरीले राप्ती साहित्य परिषद् परिवर्तनको संवाहक संस्था भएको उल्लेख गर्दै यस्ता साहित्यिक संस्थाको महत्व वर्तमान समयमा अझ बढेको बताउनुभयो।
भैरहवाबाट आउनुभएका प्राज्ञ तथा गजलकार बुँद रानाले दाङको साहित्यिक वातावरण लोभलाग्दो रहेको बताउँदै आफू सहित धेरै साहित्यकार सम्मानित र पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभयो।
सो अवसरमा ईश्वरीविना राष्ट्रिय वाङ्मय पुरस्कार नारायणप्रसाद शर्मा (दाङ) लाई प्रदान गरिएको थियो। त्यसैगरी राप्ती साहित्य पुरस्कार डा. सुदीप गौतम (दाङ), विष्णुनुमा पुरस्कार स्मृति योगी (दाङ) तथा डोमादेवी साहित्य पुरस्कार कर्णप्रखर प्रकृति धिताल (दाङ) लाई प्रदान गरियो।
यस्तै देवीचन्द्र साहित्य पुरस्कार बुँद राना (रुपन्देही), तिलका–तुलसीराम स्मृति साहित्य पुरस्कार सागर गैरे (बाँके), चन्द्रमधु गीत–संगीत पुरस्कार शेरबहादुर डाँगी (सल्यान), ओपेन्द्र–रत्न–शोभा साहित्य पुरस्कार मोहन केसी (रुकुम पूर्व), प्रेमनारायण–सावित्रा–हेमकुमारी प्रज्ञा पुरस्कार गोविन्द पोखरेल (दाङ), श्रीबहादुर–दिलमाया साहित्य पुरस्कार एच.भी. थापा मगर (रोल्पा), टेकबहादुर सुवर्ण–राजकुमारी साहित्य पुरस्कार भीमबहादुर शाही (बाँके), गोपालचन्द्र प्रज्ञा पुरस्कार तुलसी केसी (रुकुम पश्चिम) तथा खोपीलाल–हुकुमादेवी छन्द पुरस्कार जीवी चिन्तन (दाङ) लाई प्रदान गरिएको थियो।
त्यसैगरी पद्मप्रसाद रुपसा प्रहर पुरस्कार सुशील पुन ‘विरही’ (दाङ), नित्यानन्द प्रज्ञा पुरस्कार वसन्त अनुभव (दाङ), जीवनचक्र साहित्य पुरस्कार देवीकुमारी गुरुङ (रोल्पा), पण्डित कपिलमुनि–भक्तकुमारी शिवाकोटी स्मृति स्रष्टा सम्मान राजकुमारी केशर ‘सानु गुल्मेली’ (प्युठान) तथा पद्मकुल हास्यव्यंग्य पुरस्कार उदय जीएम (दाङ) लाई प्रदान गरिएको थियो।
राप्ती क्षेत्रका स्रष्टाद्वारा २०८१ सालमा प्रकाशित कृतिहरूमध्ये डा. कृष्णराज डिसीद्वारा लिखित ‘लक्ष्मण रेखा’ महाकाव्यलाई राप्ती सिर्जना पुरस्कार–२०८२ प्रदान गरिएको थियो।
कार्यक्रममा संस्कृतिविद् प्रा.डा. द्रोणप्रसाद रजौरे, पुरस्कार संस्थापक देवेन्द्रकुमार रिजाल तथा थारु भाषा, साहित्य तथा संस्कृति मञ्च देउखुरीलाई संस्थागत सम्मान गरिएको थियो। पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूको परिचय परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ले गराउनुभएको थियो।
सोही अवसरमा परिषद्का केन्द्रीय सल्लाहकार डा. टीकाराम उदासीको गजलसम्बन्धी समालोचनात्मक कृति तथा रुकुमपूर्व शाखाका सल्लाहकार कमानसिंह विष्टद्वारा लिखित ‘माटोको विम्ब’ कविता सङ्ग्रहको विमोचनसमेत गरिएको थियो।
कार्यक्रममा डा. सुदीप गौतम, जीवी चिन्तन, शेरबहादुर डाँगी, डा. कृष्णराज डिसी, देवीकुमारी गुरुङ, वसन्त अनुभवलगायतले आफ्ना साहित्यिक रचना वाचन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन परिषद्का महासचिव आदिम केसीले गर्नुभएको थियो।


