
काठमान्डौं,
कैलाली जानकी गाउँपालिकाका २५ वर्षीय वीरेन्द्र जैसी २०७३ सालमा कक्षा १० मा पढ्दै थिए। पढेर भविष्यमा केही बन्ने लक्ष्य लिएका जैसी यतिबेला सोच्दै नसोचेको जिन्दगी बाँचिरहेका छन्।
८ वर्षदेखि शारीरिक पीडा भोग्दै आएका उनलाई अहिले त मानसिक पीडाले पनि सताएको छ।
यो उमेरमा कमाइ गरेर परिवार पाल्नु पर्ने उनी आफैँ परिवारको बोझ बनिरहेको अनुभूति गर्छन्।
गत महिना मात्र शरीर दुखेर हिँड्नै नसक्ने भएपछि उनलाई पाँच पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
आठ वर्षअगाडि प्रहरी जवानले चलाएको गोली लागेर घाइते भएका जैसीको घाउ त पुरियो। तर त्यसले दुःख दिन भने अझै छोडेको छैन। सरकारले गरेको त्यो वाचा पनि पुरा नगर्दा अनसन बस्न बाध्य बनेको उनले सुनाए।
त्यो घटना, जसले वीरेन्द्रको जीवन नै उजाड्यो
१ फागुन २०७३ को साँझ खाना खाएर परिवारसँग कुराकानी गरिहेका जैसीले अत्तालिएको आवाजमा बाहिर कसैले बोलाएको सुन्छन्। उनी बाहिर निस्कन्छन्।
प्रहरीको बर्दीमा आएका एक जनाले अत्तालिँदै गाउँलेसँग गुहार मागिरहेको उनले देख्छन्।
भएको के थियो भने पूर्वबाट पश्चिमतर्फ आइरहेको राँगा गाडामा सालका चिरान काठ ल्याउदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक बृजलाल अधिकारी र सहयोग माग्न आएका प्रहरी जवान गणेशबहादुर सेठ्ठीले सोधखोज गर्छन्।
प्रहरीहरुले काठ तस्करी गरेको भन्दै दुई जनालाई हतकडी लगाउँछन्। तर १०र१५ जना अपरिचित व्यक्तिहरु आएर यी दुई प्रहरीमाथि आक्रमण गर्न थाल्छन्।
अपरिचित व्यक्तिबाट गम्भीर घाइते बनेका दुई प्रहरीमध्ये सेठ्ठी भाग्न सफल हुन्छ। उनी सहयोगका लागि गाउँलेसँग हारगुहार माग्न आइपुगेको उनले सुनाउँछन्।
प्रहरी जवानको कुरा सुनेर १०र१२ जना गाउँले घटनास्थलतर्फ लाग्छन्, अर्का प्रहरीलाई बचाउन।
यता पिटाइ खाइरहेका अधिकारी आत्मरक्षाको लागि पिस्तोल निकालेर २ राउन्ड फायर गरी सुरक्षित स्थानतर्फ भागिसकेका हुन्छन्।
सो क्रममा उनलाई बचाउन गएका गाउँलेहरुलाई अधिकारीले आक्रमणकारी ठानेर गोली चलाउँछन्। उनले अन्धाधुन्द गोली चलाउँदा वीरेन्द्र जैसीको दायाँ पेटमा गोली लाग्छ।
तत्कालै उनलाई टीकापुर अस्पतालमा प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेजमा रिफर गरिन्छ। तर अस्पतालले उपचार गर्न नसक्ने भन्दै शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गर्छ।
प्रहरी नायक निरीक्षकले आत्मरक्षाका लागि चलाएको गोली लागी निर्दोष जैसी अस्पतालको बेडमा महिनौँ लडिरहन्छन्। तर, उनलाई भेट्न राज्यका तर्फबाट कोही पुग्दैन।
सात वर्ष बितिसक्दा पनि पाएनन् उपचार खर्च
त्यो बेला शिक्षण अस्पतालमा उपचार गराउँदा लाखौँ खर्च भएको जैसी बताउँछन्।
प्रहरी कार्यालयले आत्मरक्षाका लागि चलाइएको गोलीले जैसी घाइते बनेको स्वीकार गरेको थियो। र उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले नै ब्यहोर्ने प्रतिबद्धता समेत गरेको थियो। तर त्यो अहिलेसम्म पनि पूरा भएको छैन।
उपचारमा लागेको खर्चको बिल जैसीले जिल्ला प्रशासन कार्यालय कैलाली र गृह मन्त्रालय पनि पुर्याए। तर अहिलेसम्म एक पैसा नपाएको उनले सुनाए।
गोली लागेपछि परिवारले ऋण गरेरै उपचार गराएको जैसीले बताए। १० कक्षामा पढ्दापढ्दै गोली लागेपछि उनले पढाइलाई पनि निरन्तरता दिन नसकेको सुनाए।
‘त्यो बेला घटेको घटनामा लागेको गोली अन्जानमा थियो। प्रहरीलाई पनि धेरै चोट लागेको थियो। उहाँले आत्मरक्षाका लागि चलाउनु भएको थियो। सबै हाम्रै पक्षमा भएकाले बाँचुन्जेलसम्म उपचार खर्च सरकारले नै व्यर्होने भन्ने कुरा भएको थियो तर खोई अहिलेसम्म केही गरेको छैन,’ उनी भन्छन्।
पेटमा गोली लागेर ढाडबाट निस्किएको उनले बताए। जसले गर्दा आन्द्रा चुँडिएकाले प्लास्टिकको आन्द्रा राखिएको छ। ‘खाना पनि पेटभरि खान मिल्दैन थोरै थोरै गरेर खानु पर्छ,’ उनले भने।
ढाड निकै दुख्ने भएपछि उपचारका लागि ऋणपान गरेर मुम्बई पनि पुगेको तर निको अझै पनि नभएको उनले बताए।
उनी अहिले लगातार ३ दिन देखी माईतीघर मण्डलामा अनसन बसिरहेका छन् तर सरकारवाला निकाय र गृहमन्त्रालयको अझै ध्यान पुग्न सकेको छैन ।