ओली र मैनालीमाथि प्रचण्डको ठाडो प्रहार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा महाधिवेशनमा दुई झापाली नेताको आलोचना गरेका छन् । उनले एमाले अध्यक्ष केपी ओली र नेकपा मालेका महासचिव सिपी मैनालीमाथि राप्रपाको उद्घाटन कार्यक्रम कटाक्ष गरेका हुन् ।

अध्यक्ष प्रचण्डले एमालेको दशौं महाधिवेशनको आलोचना गरेका हुन् । एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन भनेकोमा टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने,‘ ओलीले कम्युनिस्ट पार्टी फुटाएर तीन टुक्रा बनाए । तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भने ।’ अध्यक्ष प्रचण्डले राप्रपाको महाधिवेशन साँचो अर्थमा एकताको महाधिवेशन भएको बताए ।

उनलले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो । नेपाल कम्युनिस्ट पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन (एमालेको महाधिवेशन) भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ? तपाईँहरुले ठीक गर्नुभयो ।’ यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झापा विद्रोहका अगुवा नेता सिपी मैनालीमाथि पनि आलोचनाको प्रहार गरेका छन् ।

एकै मञ्चमा रहेका मैनालीले महेन्द्रलाई महान भनेको भन्दै आलोचना गरेका हुन् । प्रचण्डले भने,‘ राजतन्त्र सिध्याउनुपर्छ भनेर झापा विद्रोहमा टाउको काट्ने सुरुवात गरेका मैनालीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लागेको छ । मलाई त लाग्यो, उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे । साँच्चै त्यसो हो भने सीपीजीलाई बधाई छ ।’ ‘म त्यसैगरी त भन्न सक्दिँन, हाम्रो सिपिजीले बडो सजिलोसँग भन्दिनु भयो ,’ प्रचण्डले भने, राजतन्त्र हटाउन टाउको काट्ने आन्दोलनको नेतृत्व गर्नुभएका उहाँले अहिले महान् राजा भन्नुभयो । कतै राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ केरे !’ प्रचण्डले राप्रपा र आफूहरुबीच विचार र दर्शनमा कुरा नमिले पनि राष्ट्रवाद र देशभक्तिको मुद्दामा भने एक हुन सकिने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस