लाली गुराँस युवा क्लबद्वारा २८औँ वार्षिक उत्सव तथा सांस्कृतिक महाेत्सव हुदै

रोल्पा, चैत २५ । नव वर्ष २०८३ को शुभ अवसरमा लाली गुराँस युवा क्लबले आफ्नो २८औँ वार्षिक उत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। क्लबले वैशाख ५ गतेदेखि १२ गतेसम्म विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

क्लबले नव वर्षको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै, “सभ्य समाजका लागि संस्कृति, विकास र परिवर्तनका लागि युवा” भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको सहभागिता रहने समेत आयाेजकले जनाएकाे छ।

Open photo

आयाेजकका अनुसार उक्त उत्सव अन्तर्गत सांस्कृतिक महोत्सवका साथै विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछन्। प्रमुख प्रतियोगिताहरूमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता र एकल नृत्य प्रतियोगिता समावेश छन्।

खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेतालाई रु. १,०१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले रु. ५१,१११ प्राप्त गर्नेछन्। सेमिफाइनलिस्ट दुई टोलीलाई जनही रु. २५,१११ का दरले पुरस्कार प्रदान गरिनेछ। यस प्रतियोगिताको दर्ता शुल्क रु. १०,१११ निर्धारण गरिएको छ।

त्यसैगरी, खुल्ला महिला भलिबल प्रतियोगितामा विजेतालाई रु. ३५,५५५, उपविजेतालाई रु. २०,५५५ र सेमिफाइनलिस्टलाई रु. १०,५५५ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क रु. ३,५५० तोकिएको छ।

एकल नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारस्वरूप रु. १,००० प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन समारोह वैशाख ५ गते बिहान ११ बजे हुने तय गरिएको छ। प्रतियोगिताहरू अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियम अनुसार सञ्चालन गरिनेछ। सहभागी खेलाडीहरू उद्घाटन समारोहमा खेल पोशाकसहित अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।

आयोजकका अनुसार सहभागी टोलीहरूले खानपान तथा बसोबासको व्यवस्था आफैं गर्नुपर्नेछ। साथै, झाँकी नाच, आमा समूह तथा अन्य सांस्कृतिक प्रस्तुतिका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस