प्रेस सेन्टर नेपाल, घोराही शाखाको आयोजनामा समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिम”को समापन

२१ असार, घोराही-प्रेस सेन्टर नेपाल, घोराही शाखाको आयोजनामा सञ्चालित निःशुल्क समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिमको समापन गरिएको छ । शनिवार शाखा घोराहीका अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता एवं प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रिय उपाध्यक्ष अजयदिप शर्माको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि शर्माले पत्रकारितामा निरन्तर अध्ययन, अनुशासन र जिम्मेवारीपूर्ण व्यवहार अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल युगमा पत्रकारको भूमिकामा आएको परिवर्तनबारे जोड दिँदै, युवा पत्रकारहरूलाई सत्यतथ्यमा आधारित सामग्री उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो।

पत्रकार महासंघ दाङको हलमा बिहीवारबाट सुरु भएको तालिममा २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । जसमा नयाँ र अनुभवी दुवै खालका पत्रकारहरूको उपस्थिति थियो । तालिम अवधिभर विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकहरूद्वारा पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो।

पहिलो दिन, वरिष्ठ पत्रकार नरेन्द्र केसीले “समाचार के हो रु”, “समाचार लेखनका आधारभूत तत्वहरू”, र “समाचारको संरचना” जस्ता विषयमा व्याख्या गर्दै पत्रकारिताको मूल जगबारे स्पष्ट पार्नुभयो।

यस्तै दोस्रो दिन, पत्रकार लक्ष्मी आचार्यले “महिला र लैङ्गिक संवेदनशीलतासहितको पत्रकारिता” विषयमा प्रशिक्षण दिँदै पत्रकारितामा लैङ्गिक दृष्टिकोणको आवश्यकता र उत्तरदायित्वबारे चर्चा गर्नुभयो।

त्यही दिन, अजयदिप शर्माले “सम्पादकीय लेखन र विचार पत्रकारिता” को सैद्धान्तिक र व्यवहारिक पक्ष प्रस्तुत गर्नुभयो। साथै, पत्रकार जनक नेपालीले “टेलिभिजन पत्रकारिता” को प्रविधि, प्रस्तुति शैली, रिपोर्टिङ र स्क्रिप्ट लेखनसम्बन्धी व्यावहारिक ज्ञान दिनुभयो।

तालिमको अन्तिम दिन, प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष तथा प्रशिक्षक सन्तोष सुवेदीले “फ्याक्ट चेक र गलत सूचना विरुद्धको पत्रकारिता” सम्बन्धमा विस्तृत प्रशिक्षण दिनुभयो। सूचनाको सत्यता कसरी सुनिश्चित गर्ने र गलतरभ्रामक सामग्रीविरुद्ध पत्रकारले के कस्ता अभ्यास अपनाउने भन्नेबारे व्यावहारिक सल्लाह प्रदान गर्नुभयो।

त्यसपछि, शाखा अध्यक्ष हेमराज परिवर्तनले “डिजिटल पत्रकारिता तथा मोबाइल जर्नालिजम” सम्बन्धी विषयमा प्रशिक्षण दिँदै, पत्रकारिताको बदलिंदो स्वरूपमा डिजिटल माध्यमको भूमिकाबारे प्रकाश पार्नुभयो। तीन दिनसम्म सञ्चालित तालिममा सहभागीहरू असोक पुन मगर र रिता सेर्पालीले सिकाइ अत्यन्त उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। तालिमले पत्रकारितामा नवप्रवेशीहरूलाई दिशानिर्देश गर्न मात्रै होइन, अनुभवी पत्रकारहरूलाई समेत नयाँ दृष्टिकोण दिन सफल भएको उनीहरूको भनाइ थियो।

तालिममा सहभागी प्रत्यक प्रशिक्षार्थीलाई प्रमाणपत्र र प्रशिक्षकसँगे सहयोगीदाताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । शाखा उपाध्यक्ष वर्षा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुविनराज सेर्पालीले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस