सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँलाई पूर्ण संस्थागत प्रसूतियुक्त वडा घोषणा गरिएको थियो । पूर्ण संस्थागत प्रसूतियुक्त वडा घोषणा गर्नका लागि आवश्यक मापदण्ड र प्रक्रियाहरू पुरा गरेपछि उक्त वडा कार्यालयलाई पूर्ण संस्थागत प्रसूति युक्त वडा घोषणा गरिएको थियो ।
गाउँपालिका भित्र हालसम्म खुंग्री र घोडागाउँ गरि दुई वडालाई पूर्ण संस्थागत प्रसूति युक्त वडा घोषणा गरेको थियो ।
पछिल्लो समय घरमा सुत्केरी गराउने संख्यामा न्यून भएको स्वास्थ्य शाखा प्रमुख मतिम आलमले बताउनु भयो । सरकारले ल्याएको मातृस्वास्थ्य सुरक्षा कार्यक्रमले मातृमृत्युका संख्यामा कमी आएको उहाँले बताउनु भयो । उहाँले पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा घोषणा गर्नुमा मात्र अन्तिम कार्य नभइ यसलाई दिगोपना गर्नु महत्वपुर्ण भएको बताउनु भयो । यस कार्यक्रमले दिगो विकासको लक्षलाई समेत परिपूर्ति गर्नमा महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य शाखा प्रमुख आलमले बताउनु भयो ।
वडा प्रजनन् स्वास्थ्य समन्वय समितिका संयोजक तथा वडा अध्यक्ष पवन कँवरको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिकाकी उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, स्वास्थ्य शाखा प्रमुख मतिम आलम रहनुभएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविका, स्थानीय बुद्धिजीवी, महिला समूहका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।


