साहित्यकार सुरेश कुमार पाण्डेका सात लघुकथाहरू

यस पृष्ठमा उपलब्ध कथाका शिर्षकहरु

१. अनिकाल
२. सुखको खोजी
३. लेखक
४. बोडर
५. धोका
६. प्रमाण
७. कुसंस्कार

 

१. लघुकथा : अनिकाल
– सुरेशकुमार पाण्डे

“नमस्ते, कताबाट बाटो बिराएर आयौ आज?” शङ्करले चिन्तेलाई आफ्नो घरमा स्वागत गर्दै सोध्यो। धेरै दिन भएको थियो। जिग्री दोस्त भए पनि उनीहरूबीच भेटघाट भएको थिएन।

“नमस्ते। सबैजना सन्चै हुनुहुन्छ? भाउजू खै त?” चिन्तेले साथीकी श्रीमतीलाई घरमा नदेखेपछि सोध्यो।

“अब तँलाई किन ढाँट्ने? मलाई खासै सन्चो छैन। त्यसैले तल्लाघरे माइलासँग पाथी दस मकै सापटी मागेको थिएँ, त्यही लिन गएकी हो। तर आउने बेला भइसक्यो,” शङ्करले जानकारी गरायो।

“किन, अहिले आफ्नो बारीमा मकै भएन र?” चिन्तेले निधार खुम्चाउँदै भन्यो।

“फलेकै थियो, फल्न त फल्यो, खै छिट्टै सकियो,” उसले मुसुक्क हाँस्दै भन्यो।

“अझै त वैशाख पनि लागेको छैन! अनि हजुरको घरमा त खानेहरू पनि खासै छैनन्,” उसले चिन्ता व्यक्त गर्दै भन्यो।

“खै, हामी अलि धेरै खान्छौँ होला। करिब पाँच–छ मुरी भएको होला। सधैँ त्यस्तै हो,” शङ्करले जानकारी गरायो।

“ऊ, तिम्रो भाउजू पनि आइपुगिन्,” उसले बाहिर देखाउँदै थप्यो।

राम्रीले दस पाथी मकैको एउटा बोरा दलानमा बिसाइन्। स्याँ सुस्केरा हाल्दै भनिन्, “नमस्ते बाबु! कतिबेला पाल्नु भएको हो?”

उनी पसिनाले निर्थुक्क भिजेकी थिइन्।

“नमस्ते भाउजू! म भर्खरै आएको।”

“म फेराको घरबाट मकै लिन गएकी थिएँ, ढिला भयो,” उनले भनिन्।

“यति ठूलो बारीको मकैले नपुग्ने कारण के होला भाउजू? मेरो बारी त हजुरहरूको भन्दा थोरै छ,” चिन्तेले आश्चर्य व्यक्त गर्दै भन्यो।

“राम्री! तिमीले अलिकति खानेकुरा बनाऊ, भाइ भोकाएको होला। पछि कुरा गरौँला,” शङ्करले भन्यो।

उनी चुपचाप भित्र पसिन्। एकैछिनमा फेरि दलानमा फर्किन्। उनको हातमा दुईवटा ठूला गिलास र जगभरि मकैको जाँड थियो।

“लिनुहोस् बाबु,” गिलासमा जाँड खन्याउँदै उनले भनिन्।

“भाउजू, माफी पाऊँ। यो त मलाई चल्दैन,” उसले भन्यो।

“होर बाबु? पटक्कै लिनु हुँदैन?” उनले भनिन् र चिया बनाउन गइन्।

“ए ए… अनिकाल त यसले पो निम्त्याउँदो रहेछ,” उसले मनमनै भन्यो।

दाङ, घोराही–१८
०६–०४–२०२६ (२३–१२–२०८२)

 

२.लघुकथा : सुखको खोजी
– सुरेशकुमार पाण्डे

“अरे चमेली! तिमी कताबाट?” सिलाले अँगालो हाल्दै सोधी।

“खै के भनूँ यार! आफ्नो जीवन यस्तै कोर्ट–कचहरीमै बित्ने भयो। बरु तिम्रो के छ हालचाल?” चमेलीले सिलाको अनुहार नियाल्दै सोधी। उनीहरूले सँगै कलेजको पढाइ पूरा गरेका थिए।

“मेरो त ठीकै छ। पहिले त कहिल्यै नचिनेको घरपरिवारमा कस्तो हुन्छ भन्ने डर थियो। अहिले त घरका सबैले माया गर्छन्। उहाँले पनि अत्यन्त माया गर्नुहुन्छ। पहिले उहाँसँग चिनजान नै थिएन। मागी विवाह गरेको यत्तिको परिवार होला भन्ने कल्पना पनि गरेकी थिइनँ मैले,” सिलाले आफ्नो बारेमा बताई।

“अनि किन आज कोर्टमा आएकी?” सिलाले प्रश्न थपी।

“वकिलले बोलाएका थिए। डिभोर्सका कागजातमा सहीछाप गर्न आएको हुँ। वकिलकै बाटो कुरेकी छु,” चमेलीले भनी।

“के भनेको? परारको वर्ष अनिलसँग डिभोर्स दिएँ भनेकी थिइस् नि?” उसले आश्चर्य प्रकट गर्दै सोधी।

“हो यार! अनिलसँग डिभोर्स भएपछि फेरि टोपलालसँग विवाह गरेकी थिएँ। तर अनिलभन्दा पनि यो जँड्याहा, जुवाडे र ऐयास रहेछ। थाहा भएन। बरु अनिल रक्सी खाए पनि माया त गर्थ्यो, तर यसले त मारपिटसमेत गर्छ। त्यसैले यसलाई पनि डिभोर्स दिँदै छु,” चमेलीले मलिन हुँदै आफ्नो कुरा सुनाई।

“मैले त उतिबेलै भनेकी थिएँ, विवाहजस्तो कुरा हतारको हुँदैन। विवाहपछि केही कमी–कमजोरी भयो भन्दैमा डिभोर्स पनि हतारमा गर्नु हुँदैन। तिमीले डिभोर्स दिएको अनिल त जाँड–रक्सी छाडेर समाजसेवामा लागेको छ। उसले विवाह पनि गरेको छैन। तिमीसँग उसले अहिले पनि धेरै माया गर्दो रहेछ। केही दिनअघि भेटेकी थिएँ, तिम्रै कुरा गर्दै थियो,” सिलाले विगत कोट्याउँदै भनी।

“ठूलो पछुतो भयो। अब त के नै हुन सक्छ र? सुखको खोजीमा हिँडेकी, झन् ठूलो दुःख हात लाग्यो,” चमेलीले भावुक हुँदै भनी।

“हतारको निर्णयले ल्याएको परिणाम हो, चमेली। चिन्ता नगर, कुनै उपाय खोजौँला,” सिलाले ढाडस दिँदै बिदा भई।

दाङ, घोराही–१८
०३–०१–२०८३ (१६–०४–२०२६)

 

 

३. लघुकथा : लेखक
– सुरेशकुमार पाण्डे

“सर, यो मेरो कथाको पाण्डुलिपि हेर्नुभयो?” भिमले आफ्नो फाइलतिर इशारा गर्दै भन्यो।

“कुन त्यो फाइल? हेर्नै भ्याएको छैन। हजुरको फाइलभन्दा पहिले अरूका पनि छन्। हजुरलाई भनेकै थिएँ, समय लाग्छ। हामी सबै फाइल सँगसँगै जाँच गर्छौँ,” शालिकरामले भिमलाई उही पुरानै कुरा दोहोर्‍यायो।

“सर, मलाई राजधानी आउन चर्को भाडा र समय खर्च गर्नुपर्छ। चार–पाँच चक्कर काटिसकेँ,” भिमले आफ्नो समस्या सुनायो।

“हजुरले कस्ता कुरा गर्नुहुन्छ? हामीले बोलाएका हौँ र? हजुर आफैँ आउनुभएको हो। किन आउनुहुन्छ? फाइल जाँच भयो भने हामी आफैँ बोलाउँछौँ नि,” शालिकरामले भन्यो।

“सर, त्यति ठूलो पुस्तक पनि छैन। जम्मा साना–साना साठीवटा लघुकथा छन्। त्यसैलाई हेर्न तीन महिना भयो। दुई पटक त फाइल नै हराउन लाग्यो, खोजेर दिनुपरेको थियो। अहिले हजुर खाली बस्नुभएको बेला हेर्न सकिन्थ्यो,” भिम निराश हुँदै भन्यो।

“हेर भाइ, तिम्रो मात्रै काम छैन यहाँ। अरू पनि थुप्रै छन्। कुनै पनि काम सिस्टमले हुन्छ, बुझ्यौ? यहाँ तिमीभन्दा पहिलेका फाइल छन्,” शालिकराम चर्को स्वरमा बोल्यो।

त्यत्तिकैमा एक जना व्यक्ति कार्यालयमा प्रवेश गरे।

“सर! नमस्कार। आज कसरी?” शालिकराम आफ्नो सिटबाट जुरुक्क उठेर सोध्यो।

“एउटा पुस्तकको सिलसिलामा आएको हुँ, शालिक। यो फाइल आजै हेर है,” चिल्लो कारमा आएका ती व्यक्तिले फाइल थमाउँदै भने।

“हस् सर, अवश्य,” शालिकराम खिसिक्क हाँस्दै भन्यो।

यो दृश्य देखेर भिमको मन अमिलो भयो।

“गरिबभित्रको प्रतिभा बाहिर आउनुभन्दा पहिल्यै तुहिने कारण यही हो। मेरो फाइल फिर्ता लगेँ, सर,” भन्दै भिमले आफ्नो फाइल उठायो र गेटबाट बाहिर निस्कियो।

दाङ, घोराही–१८
२२–०४–२०२६ (०९–०१–२०८३)

 

 

४. लघुकथा : बोडर
– सुरेशकुमार पाण्डे
“हजुरजस्तो पढे–लेखेको व्यक्तिले यस्तै गर्नुहुन्छ?” प्रहरीले डम्मरको झोला नियन्त्रणमा लिँदै भन्यो।
“सर, मबाट के गल्ती भयो? यसमा के छ र?” डम्मरले आश्चर्य हुँदै सोध्यो।
“हजुरलाई थाहा छैन, एक सय रुपैयाँभन्दा बढीको सामान लिएर आउन पाइँदैन भन्ने? यो के हो? यो धोती मात्र पनि दुई हजारभन्दा कमको छैन। अनि यी अन्डरवेयर र बनियान। यी सबै सामानको भन्सार तिरेर जानुहोस्,” उसले महसुल कक्षातर्फ देखाउँदै भन्यो।
“सर, म औषधि उपचार गराउन गएको थिएँ। त्यहाँबाट मेरी बुढी आमालाई एउटा धोती किनिदिएको हुँ। यी कच्छा–बनियान त मैले लगाउने हुन्। आफ्नो लगाउने लुगाको पनि भन्सार लाग्छ?” डम्मरले फेरि प्रश्न गर्‍यो।
“मसँग बहस नगर्नुहोस्। भित्र हाकिमसाहेब कहाँ जानुहोस्। मैले लगाएको कपडाको कुरा गरेको होइन,” उसले कुराको बिट मार्दै भन्यो।
त्यत्तिकैमा उसले अर्कोतिर हेर्दै भन्यो, “सलाम छ है साहुजी!”
औँलाभरि औँठी र घाँटीमा ठूलो सिक्री लगाएको व्यक्ति कारमा गुड्दै गयो। प्रहरीले उसलाई केही भनेन।
त्यसपछि छिमेकी मुलुकबाट आएको एक व्यक्तिको रेडियो समात्दै भन्यो, “ए भैया, यहाँ आउ! के हो यो?”
“यो रेडियो हो सर, पुरानो,” उसले सफाइ दियो।
“मलाई थाहा छैन पुरानो हो कि नयाँ। जाऊ, भन्सारको रसिद लिएर आउ,” प्रहरीले भन्यो।
“सर, पुरानो रेडियोको पनि भन्सार लाग्छ र? त्यसो भए लिनुहोस्,” भन्दै उसले रेडियो भुइँमा पछार्‍यो र हिँड्यो।
“वाह सरकार!” यो दृश्य हेरिरहेको डम्मरले लामो सास फेर्दै भन्सार तिर्ने लाइनमा उभियो।
दाङ, घोराही–१८
२४–०४–२०२६ (११–०१–२०८३)

 

 

 

५.लघुकथा : धोका
– सुरेशकुमार पाण्डे
“के हुँदैछ आज?” दिनुले मानिसहरूको भिड देखेर सोधे।
“ऊ त्यहाँ हेर्नु न, सर!” मुरलीले भुइँमा लम्पसार परेका केही मानिसतर्फ इशारा गर्दै भन्यो।
“किन यसो गरेका? यी महिलाहरूलाई कतै भूतप्रेतले छलकपट गर्‍यो कि क्या हो?” दिनुले ठट्टा गर्दै भने।
“आज यो बस्तीको पालो हो ढाल्ने। हेर्नुहोस्, डोजर आएको छ,” मुरलीले भन्यो।
केही प्रहरी र डोजर बस्तीको छेउमा उभिएका थिए। साना बालबालिकासमेत डरले थरथर काँपिरहेका थिए।
“यीहरूको बस्ती ढालेर सरकारलाई के मिल्छ? बिचरा गरिब–दुःखीहरू कहाँ जान्छन्?” दिनुले एक प्रहरीलाई सोधे।
“सर, हामी आदेश मान्ने मात्र हौँ। जी हजुर बाहेक अरू केही बोल्ने अधिकार छैन। बरु हजुरजस्ता मानिसले सरकारसँग वा अदालतबाट स्टे अर्डर ल्याउनुपर्थ्यो,” प्रहरीले भन्यो।
बस्तीको अवस्था देखेर दिनु आफैँ भावुक भए। चुनावी अभियानका बेला उनी यही बस्तीमा भोट माग्न आएका थिए।
उनीहरूलाई उनले भनेका शब्दहरू कानमा गुन्जिन थाले—
“तिमीहरूलाई यहाँबाट कसैले हटाउन सक्दैन। हामी सबैलाई यहीँको लालपुर्जा दिलाउँछौँ।”
त्यो बेला उनले आश्वासन दिएका थिए। तर आज ती आश्वासन केवल शब्द बनेर बाँकी थिए।
“उफ्! मानिसहरूको रूप कति छिट्टै बदलिँदो रहेछ,” दिनुले मनमनै भने र घरतिर फर्किए।
दाङ, घोराही–१८
२८–०४–२०२६ (१५–०१–२०८३)

 

 

६.लघुकथा : प्रमाण
– सुरेशकुमार पाण्डे
“अरे-अरे, के हो यो?” गेटमा उभिएको चौकीदारले जितुलाई रोक्दै भन्यो।
त्यत्तिकैमा भित्र र बाहिर मानिसहरूको भीड जम्मा भयो। पत्रकारहरू पनि फोटो खिचिरहेका थिए। यस्तो दृश्य त्यहाँ कसैले पहिले देखेको थिएन।
“यो पागल हो कि? मसाने हो कि? विवेक गुमाएको हो कि?” विभिन्न तर्क सुनिन थाले।
एक पत्रकारले सोधे, “हजुर को हुनुहुन्छ? अनि यो केको तमासा हो?”
“यो तमासा होइन, प्रमाण हो—मेरो बहिनी मरेको प्रमाण,” उसले बोकेको कंकाल देखाउँदै भन्यो।
“अनि किन यसरी कंकाल बोकेर ल्याउनुपर्‍यो?” पत्रकारले सोध्यो।
“मेरो नाम जितु मुण्डा हो। मेरी बहिनीको खातामा उन्नाइस हजार तीन सय रुपैयाँ छ। त्यो निकाल्न धेरै पटक बैंक धाएँ। तर बैंकले सधैँ एउटै जवाफ दियो—’खातावाल व्यक्ति स्वयं उपस्थित भएर हस्ताक्षर गर्नुपर्छ।’
मैले धेरै पटक भनेँ, मेरी बहिनी अब यस संसारमा छैन। तर मेरो कुरा कसैले सुनेन। यहाँ मानवताभन्दा कागजको मूल्य ठूलो छ, पीडाभन्दा प्रक्रियाको मूल्य बढी छ,” जितुले भावुक हुँदै भन्यो।
पत्रकारले फेरि सोधे, “मृत्युको अन्य प्रमाण पनि त हुन सक्थ्यो नि?”
“अब यही अन्तिम प्रमाण बाँकी छ। बैंकले मागेअनुसारको प्रमाण यही हो।
म्यानेजरसाहेब, यो मेरी बहिनी हो। अब खातामा भएको पैसा निकाल्न मिल्छ कि अझै अर्को प्रमाण चाहिन्छ? हस्ताक्षर वा औँठाछाप लिनुहोस्,” जितुले राता–राता आँखा पुछ्दै भन्यो।
सबै मानिस बैंक म्यानेजरको उत्तर सुन्न प्रतीक्षारत थिए। तर म्यानेजरसँग कुनै उत्तर थिएन।
दाङ, घोराही–१८
०३–०५–२०२६ (२०–०१–२०८३)

 

 

७. लघुकथा : कुसंस्कार
– सुरेशकुमार पाण्डे
“कुनै बेला कति संस्कारी थियो हाम्रो घर,” बिनाले भिमको अनुहारतिर हेर्दै भनी।
भिमको छाला चाउरी परिसकेको थियो। कपाल फुलेका थिए, दाँत झरिसकेका थिए।
“हो नि, हाम्रो घरबाट छिमेकीहरूले शिक्षा र प्रेरणा लिँथे। तर आज…” ऊ बोल्दाबोल्दै रोकियो।
“चिन्ता नलिनु, सबै ठीक हुन्छ,” बिनाले भिमको हात समाउँदै भनी।
उनीहरू उपचारका लागि छिमेकी मुलुक जाँदै थिए। सिमापारिको रेल स्टेशनमा रेल कुरिरहेका थिए।
“जे सोचेका थियौँ, आखिर ठीक उल्टो भयो,” भिमले गहिरो सास फेर्दै भन्यो।
“सानो परिवार र खुसीले भरिएको घर। आखिर कसको कुदृष्टि लाग्यो?” बिनाले चिन्तित हुँदै भनी।
“आफ्नो छोरा मात्र ठीक भएर कहाँ हुने रहेछ? बुहारीले घरको मर्यादा र संस्कार नबुझेपछि। हामी छोरीलाई सासु–ससुराको सेवा गर्न सिकाउँछौँ, तर…” भिम भावुक भयो।
“त्यसैले त मैले भनेकी थिएँ, आफैँले खोजेर संस्कारी बुहारी ल्याऔँ। तर हजुरले छोराले मन पराएकी केटीसँगै विवाह गरिदिनुपर्छ भनेर जिद्दी गर्नुभयो,” बिनाले आरोप लगाई।
“मलाई के थाहा, हाम्रो छोरा नै ठीक निस्कँदैन भनेर? अर्काकी छोरीलाई मात्र दोष दिएर के हुन्छ?” भिमले जवाफ दियो।
“जुन दिनदेखि ऊ घरमा भित्रिई, त्यही दिनदेखि हाम्रो घरको अवस्था बिग्रन थाल्यो,” बिनाले हावाले उडाएको एउटा कागज उठाउँदै भनी।
“के हो त्यो?” भिमले सोध्यो।
कागजमा लेखिएको थियो— ‘मेरो सबैभन्दा प्यारो साथी’।
त्यो उनीहरूको छोराले आफ्नी श्रीमतीलाई लेखेको पत्र थियो। सँगै एउटा तस्बिर पनि थियो।
दुवै जना केहीबेर मौन भए। गल्ती बुहारीमा मात्र होइन, आफ्नै संस्कार र सोचमा पनि हुन सक्छ भन्ने अनुभूति उनीहरूलाई पहिलो पटक भएको थियो।
दाङ, घोराही–१८
१३–०५–२०२६ (३०–०१–२०८३)

 

 

प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस