घाेराही, चैत्र २० । दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका विभिन्न संकायमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरिएको हो।
शुक्रबार घोराहीस्थित बहुउद्देश्यीय सभाहलमा आयोजित कार्यक्रम स्ववियु सभापति दिपेश कुमार डि.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने प्रमुख अतिथि तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएकाे थियाे ।

त्यस्तै, कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापकहरू, क्याम्पस स्ववियु परिवार, विभिन्न शैक्षिक तथा सामाजिक संघ–संस्थामा आबद्ध व्यक्तिहरू, प्रतिनिधिहरू, साहित्यकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा क्याम्पसका विभिन्न संकाय तथा सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई सभाध्यक्ष, प्रमुख अतिथि तथा अन्य अतिथिहरूले खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए। साथै, अध्ययन पूरा गरी क्याम्पसबाट बिदा हुन लागेका विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री न्यौपानेले क्याम्पसले लामो समयदेखि शैक्षिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले भन्नु भयाे, “महेन्द्र बहुमुखी क्याम्पसले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ, जसले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ।”
त्यस्तै, विशिष्ट अतिथि नगर प्रमुख चौधरीले नयाँ विद्यार्थीहरूलाई अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्दै भन्नु भयाे, “आज स्वागत गरिएका विद्यार्थीहरू भोलिका राष्ट्रका कर्णधार हुन्, त्यसैले आफ्नो लक्ष्यप्रति दृढ रहनु आवश्यक छ।”
कार्यक्रमका सभाध्यक्ष तथा स्ववियु सभापति दिपेश कुमार डि.सी.ले क्याम्पसमा नयाँ विद्यार्थीहरूको आगमनले शैक्षिक वातावरण थप ऊर्जा प्राप्त गरेको उल्लेख गर्दै “हामी विद्यार्थीहरूको हकहितका लागि सदैव प्रतिबद्ध छौँ र शैक्षिक वातावरण अझ सुदृढ बनाउन प्रयासरत रहनेछौँ।” उहाँले भन्नु भयाे ।
कार्यक्रममा वक्ताहरूले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययनमा सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेका थिए भने बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए। साथै, महेन्द्र बहुमुखी क्याम्पस दाङ लामो इतिहास बोकेको प्रतिष्ठित शैक्षिक संस्था भएको उल्लेख गर्दै यसले विगतदेखि नै विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएकोमा प्रशंसा गरिएको थियो।
स्ववियु उपाध्यक्ष प्रशान्त पोख्रेलले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथा समापन स्ववियु सचिव सागर पण्डितले गरेका थिए।
फोटो साभार : बिष्णु गोराथोकी


