राेल्पा, फागुन २७ । राेल्पाकाे परिवर्तन गाउँपालिका–१ कुरेलीमा सहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको छ। बुधवार एक कार्यक्रमका बिच वडा नं. १ को आयोजनामा उक्त गाउँपालिका वडा नं. १ मा रहेका सहिद परिवारलाइ सम्मान गरिएकाे हाे ।
कार्यक्रम परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष हितकुमारी बुढा मगरकाे प्रमुख आतिथ्यता तथा परिवर्तन गाउँपालिका वडा नं. १ काअध्यक्ष मैते बुढा मगरकाे अध्यक्षता र निवर्तमान वडा अध्यक्ष बमबहादुर पुनकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रमका अवसरमा सहिद परिवारका १४ जना सदस्यलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सहिद प्रेमबहादुर रोका मगरकी श्रीमती मङ्गला रोका, सहिद सुकप्रसाद रोका मगरका भाइ दिलबहादुर रोका, सहिद भीमप्रसाद घर्ती मगरकी आमा धनी मगरनी, सहिद जयधन रोका मगरकी छोरी कल्पना रोका मगर, सहिद पृथ्वीबहादुर बुढा मगरका भाइ जयकुमार बुढा मगर, सहिद उजिर बुढा मगरकी बहिनी हस्ता बुढा मगर, सहिद नारायण बुढा मगरका दाइ दलबहादुर बुढा, सहिद खर्कबहादुर बुढा मगरकी धनकुमारी रोका, सहिद लालधन बुढा मगरका भाइ केशव बुढा मगर, सहिद हरिबहादुर बुढा मगरका छोरा सन्दिप बुढा मगर, सहिद प्रेम रोका मगरकी भतिजी आकृति रोका, सहिद आइतराम बुढा मगरका छोरा बिमल बुढा मगर, सहिद माघे रोका मगरकी छोरी तिलकुमारी झाँक्री तथा सहिद बादरसिंह ओलीका दाइ बर्मान ओली रहेका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, महिला स्वास्थ्य स्वयंसेविका, महिला समूह तथा स्थानीयवासीहरूको गाउँ–टोलबाट गाजाबाजा सहित उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष हितकुमारी बुढा मगरले सहिदहरूले देश र जनताको मुक्तिका लागि दिएको बलिदान कहिल्यै बिर्सन नहुने बताउनुभयो। उहाँले सहिदहरूको रगतबाट प्राप्त लोकतन्त्र र गणतन्त्रलाई जोगाइराख्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो। सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने बताउँदै सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष मैते बुढा मगरले सहिदहरूको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रलाई सधैं स्मरण गर्नुपर्ने बताउनुभयो। उहाँले सहिद परिवारका लागि वडा कार्यालयले आवश्यक सहयोग र कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


