धारपानी महाशिवरात्रि मेलाबाट साढे ९ लाख रुपैयाँ आम्दानी

दाङ, २६ फागुन। दाङको धारपानी क्षेत्रमा आयोजित महाशिवरात्रि मेलाबाट साढे ९ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ। फागुन ३ गते लागेको उक्त मेलाबाट यस वर्ष ९ लाख ५१ हजार ३ सय १७ रुपैयाँ आम्दानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार सबैभन्दा बढी रकम दानपेटिकाबाट संकलन भएको छ। दानपेटिकाबाट ३ लाख ८३ हजार ८ सय ५० रुपैयाँ संकलन भएको छ। त्यस्तै सहयोग रसिदबाट २ लाख ६ हजार ९ सय ७ रुपैयाँ, बजार मेला स्टलबाट १ लाख ७५ हजार ५ सय रुपैयाँ, रमाइलो मेला पिङबाट १ लाख रुपैयाँ, पार्किङ शुल्कबाट ८० हजार ३ सय ८० रुपैयाँ र टीकाबाट ४ हजार ६ सय ८० रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ।

मेला व्यवस्थापनका लागि भक्तजनका लागि खाना–नास्ता, टेन्ट तथा साउण्ड सिस्टम, अतिथि सत्कार तथा प्रचार–प्रसार लगायतका शीर्षकमा २ लाख ८२ हजार २ सय ३० रुपैयाँ खर्च भएको छ। उक्त खर्च कटाएर ६ लाख ६९ हजार ८७ रुपैयाँ बचत भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी ले जानकारी दिनुभयो।

यस वर्ष मेलालाई व्यवस्थित बनाउन विभिन्न १६ वटा उपसमिति गठन गरी ३ सय ५१ जना स्वयंसेवक परिचालन गरिएको समितिका सचिव विष्णुराम आचार्य ले बताउनुभयो। उहाँका अनुसार त्यसकै कारण मेला सभ्य, शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको थियो।

मेलामा भजन–कीर्तन, नाचगान तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। घोराही–१३ को नौमति पञ्चेबाजा समूहले नौमति पञ्चेबाजा प्रस्तुत गरेको थियो। साथै नेपाल ज्योतिष परिषद् तथा धामी–झाँक्री समूहले तान्त्रिक झाँकी प्रदर्शन गरेका थिए।

यस अवसरमा घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङ र गोरखा हस्पिटल लगायत विभिन्न संघसंस्थाको समन्वयमा नसर्ने रोगको स्क्रिनिङ शिविर पनि सञ्चालन गरिएको थियो।

यसैबीच, यस वर्षको मेलामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने भक्तजन, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी संस्था तथा व्यापारीप्रति मन्दिर व्यवस्थापन समितिले धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस