काठमाडौँ , फागुन २५ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो चुनाव खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार शाहले चुनाव अभियानका क्रममा कूल १४ लाख १४ हजार ७ सय २९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
पेश गरिएको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ। चुनाव प्रचार–प्रसारका क्रममा १५ दिनका लागि दुईवटा गाडी भाडामा प्रयोग गर्दा २ लाख ३३ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यस्तै पाँच पटकको हवाई यात्राका लागि ३५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९ सय ७० रुपैयाँ खर्च भएको जनाइएको छ। वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। नमूना मतपत्र छपाइका लागि ४४ हजार ५ सय ५० रुपैयाँ खर्च भएको पनि जनाइएको छ।
चुनाव अभियानका क्रममा कार्यालय सञ्चालनका लागि दुई महिनामा पानी खर्च शीर्षकमा ९० हजार रुपैयाँ र स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६ सय ७० रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा १ लाख ७५ हजार ३४ रुपैयाँ तथा प्रचार सामग्री ढुवानी र टिकटमा १ लाख १९ हजार ५ सय ५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा जनाइएको छ।
उक्त खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका हुन्।


