
काठमाडौँ, फागुन २५ । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्।
माघ ११ गते भएको निर्वाचनबाट १८ जना नयाँ सांसद निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। यसअनुसार यही फागुन २० गते १९ जना सांसदको कार्यकाल समाप्त भएको थियो। रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक प्रावधान रहेको छ।
माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो। सोही तालमेलअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन्। मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए।
त्यस्तै बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा तथा लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए। यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन्।

