घेराही, फागुन १ । दाङका विभिन्न स्थानमा शुक्रबार ३१औँ जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम आयोजित सम्पन्न गरिएकाे छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा), दाङले घोराही, तुलसीपुर, देउखुरी लगायतका क्षेत्रमा कम्युनिस्ट आन्दोलनको इतिहास, बलिदान र उपलब्धिहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो।
घोराहीको शहिद गेटमा कार्यक्रमको उद्घाटन नेकपा केन्द्रिय सदस्य तथा दाङ क्षेत्र–२ का प्रत्यक्ष उम्मेदवार निर्मल आचार्यले गर्नुभयो। उहाँले कम्युनिस्ट आन्दोलनको इतिहास, बलिदान र उपलब्धिहरू स्मरण गर्दै एकता र निरन्तरताको महत्व औंल्याउनुभयो।
कार्यक्रममा बोल्ने नेताहरूले विगतमा कम्युनिस्ट आन्दोलनमाथि लगाइएका विभिन्न आरोप र भ्रमका बाबजुद पनि संघर्ष र राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गरे। वक्ताहरूले एक समय कम्युनिस्टहरूलाई सामाजिक मूल्य नमान्ने, हिंसामात्र गर्ने वा संघर्ष गर्न नसक्ने आरोप लाग्ने गरेको भए पनि व्यवहारले ती आरोप गलत सावित भएको दाबी गर्नुभयो।
उनीहरूको भनाइ अनुसार कम्युनिस्ट आन्दोलनले सामन्ती संरचना अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।


