दाङ-२ मा नेकपाको युवा भेला तथा प्रशिक्षण सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)दाङ निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ। कार्यक्रम वाइसीएल दाङका संयोजक इराक घर्ती मगरको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेखा शर्माले देशको राजनीतिक स्थायित्व, सुशासन र विकासको आधार युवाको सक्रिय सहभागिता भएको बताउँदै युवालाई सचेत, संगठित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। “परिवर्तनको मुख्य शक्ति युवा हुन्, अबको निर्वाचनमा युवाको सक्रियता निर्णायक बन्नेछ,” उहाँले भन्नुभयो।
यस्तै उहाँले चर्चामा रहेको घोराही–तुलसीपुर चारलेन सडक विस्तारको काम आफू निर्वाचन पश्चात् रोकिएको काम सुरु हुने वातावरण निर्माण गरिएको र हाल उक्त आयोजनाले गति लिएको बताउनुभएको छ।
उहाँले आफ्नो कार्यकालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक बजेट विनियोजन गर्दै स्वास्थ्य सेवाको विस्तारमा महत्वपूर्ण सहयोग पुर्‍याइएको उल्लेख गर्नुभयो। “स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिएको हो,” उहाँको भनाइ थियो।

त्यसैगरी, निर्वाचित क्षेत्रका प्रत्येक वडामा आवश्यकता अनुसार आर्थिक बजेट विनियोजन गरिएको स्पष्ट पार्दै शर्माले विकास निर्माणका कामलाई निरन्तरता दिन आगामी दिनमा पनि पहल जारी रहने बताउनुभयो। उहाँले जनताको आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर योजनाहरू अघि बढाइएको र त्यसका सकारात्मक परिणाम देखिन थालेको धारणा व्यक्त गर्नुभयो।
यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार निर्मल आचार्यले युवा शक्तिलाई पार्टीको मेरुदण्डका रूपमा व्याख्या गर्दै संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध अझ मजबुत बनाउन आग्रह गर्नुभयो। “युवाको उत्साह र जनताको विश्वासले दाङ–२ मा नेकपाको जित सुनिश्चित हुन्छ,” आचार्यले उल्लेख गर्नुभयो।

समानुपातिक उम्मेदवार भिम कुमारी बुढाले समावेशी सहभागिता, सामाजिक न्याय र अवसरको समान पहुँचका लागि युवाहरूलाई अग्रसर हुन आग्रह गर्नुभयो। सस्मती चौधरीले पनि युवाहरूलाई सकारात्मक राजनीति र विकासमुखी अभियानमा एकजुट हुन आह्वान गर्नुभयो।

कार्यक्रममा नेकपा दाङ–२ का नेता–कार्यकर्ता तथा विभिन्न वडाबाट आएका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आजको भेला तथा प्रशिक्षणले आगामी निर्वाचन केन्द्रित संगठन विस्तार, प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई तीव्र बनाउने विश्वास लिएको वाइसीएलका केन्द्रिय सदस्य अनिल सेर्पाइलिले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस