१४ माघ,घोराही – दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीका नेता निर्मल आचार्यले रोल्पाली सेवा समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। बुधबार घोराहीमा आयोजित कार्यक्रममा समाजसेवी डिलाराम वलीको नेतृत्वमा गठन भएको रोल्पाली सेवा समाजको तेस्रो कार्यसमितिलाई उहाँले बधाई दिनुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले रोल्पाली सेवा समाजले सामाजिक एकता, सहयोग र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। “रोल्पाली समुदायको साझा भावना र सामाजिक सेवामा समर्पित यो संस्थाले आगामी दिनमा अझ प्रभावकारी काम गर्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो, “समाजको विकास र जनताको सेवामा यस्ता संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।” त्यस्तै, नवनिर्वाचित अध्यक्ष डिलाराम वलीले समाजप्रति देखाइएको सद्भाव र समर्थनप्रति उम्मेदवार आचार्यलाई धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “रोल्पाली सेवा समाजलाई अझ व्यवस्थित, सक्रिय र जनमुखी बनाउने हाम्रो प्रतिबद्धता छ। सबैको सहयोग र एकताबाट समाजसेवाको कामलाई निरन्तर अघि बढाउनेछौं।” कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी तथा रोल्पाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


