१४ माघ, घोराही- नेपाली कम्युनिस्ट पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार निर्मल आचार्यले जेष्ठ नागरिक दिवा सेवा समाजसँग भेटघाट गर्नुभएको छ। बुधबार घोराही–१४ स्थित सब्जीमण्डीमा अवस्थित जेष्ठ नागरिक दिवा सेवा समाजमा पुगेर उहाँले जेष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै आशीर्वाद लिनु भएको हो ।
कार्यक्रममा जेष्ठ नागरिकहरूको सम्मान, हकहित र संरक्षणप्रति पार्टी तथा आफ्नो व्यक्तिगत प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार आचार्यले जेष्ठ नागरिकहरू समाजका अमूल्य अनुभव र मार्गदर्शक भएको बताउनुभयो। उहाँले नीति निर्माणमा जेष्ठ नागरिकका अनुभवलाई महत्व दिने धारणा पनि राख्नुभयो। कार्यक्रममा जेष्ठ नागरिक चित्रकान्त आचार्यले आजका युवा उम्मेदवारहरू जेष्ठ नागरिकलाई सम्झेर यहाँसम्म आउनु सुखद भएको बताउनुभयो ।
निर्मल आचार्य जस्तो स्वच्छ छवि र जनतासँग नजिकको उम्मेदवारले हामीजस्ता जेष्ठ नागरिकको पीडा र आवश्यकतालाई बुझ्नुहुने विश्वास व्यक्त गर्नुभयो । भेटघाट कार्यक्रमको क्रममा उम्मेदवार आचार्य जेष्ठ नागरिकहरूसँग नाचगानमा समेत सहभागी हुनुभएको थियो। नाचगान र सामूहिक सहभागिताले कार्यक्रमलाई थप आत्मीय र उत्साहपूर्ण बनाएको थियो।
जेष्ठ नागरिक दिवा सेवा समाजका पदाधिकारी तथा सदस्यहरूले उम्मेदवार आचार्यलाई सफलताको शुभकामना दिँदै आगामी दिनमा जेष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका थिए।


