रोल्पामा भीरबाट लडेर एक महिलाको मृत्यु
रोल्पा ३० पुस ।
रोल्पाको रुन्टीगढी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। रुन्टीगढी गाउँपालिका वडा नं. ८ बलडाँडा निवासी ३२ वर्षीया डिल कुमारी पुनको भीरबाट लडेर मृत्यु भएको हो।
प्रहरीका अनुसार नन्द कुमार पुनकी श्रीमती डिल कुमारी पुस २८ गते बिहान करिब ११:०० बजे घर नजिकैको वनमा बाख्रा चराउन गएकी थिइन्। साँझसम्म पनि उनी घर नफर्किएपछि परिवार र आफन्तले खोजी सुरु गरेका थिए।
महिला बेपत्ता भएको जानकारी पाएलगत्तै पुस २९ गते बिहान ११:०० बजे अस्थायी प्रहरी पोष्ट कुर्जाबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा रुन्टीगढी गाउँपालिका वडा नं. ८ स्थित बल्दजुरे सामुदायिक वनको भीरबाट करिब १०० मिटर तल खसेको अवस्थामा उनको शव फेला परेको हो।
मृतकको शव भीरको बीच भागमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार


