नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी शुरु

दाङको घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला-२०८१ शुरु भएको छ । ‎नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शनिबारदेखि घोराहीस्थित झिंगौरामा सांस्कृतिक प्रदर्शनी शुरु भएको हो ।

नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढामगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख चौधरीले मगर समुदायको खाम भाषा ओझेलमा परेको बताए । उनले जुन खाम भाषाले मगर समुदायलाई बोल्न र विकास गर्न सिकायो आज त्यो भाषा बोलचालीमा सीमित रहेको कुरामा जोड दिए ।

नगरप्रमुख चौधरीले खाम भाषालाई लेखपढ भाषा बनाउनुपर्छ भनेर घोराही उपमहानगरले खाम भाषाको पाठ्यक्रम तयार पार्न लागेको बताए । आगामी शैक्षिकसत्रदेखि घोराहीमा खाम भाषाको पढाइ सुरुहुने समेत उनको भनाइ छ । सबै कला र भेषभूषाको संरक्षण गर्न जरुरी रहेको र त्यसका लागि घोराही उपमहानगरपालिका सदैव तयार रहेको भन्दै नगरप्रमुख चौधरीले कला, संस्कृति र भेषभूषालाई व्यवसायीकरण गर्न सकियो भने त्यसलाई आम्दानी र रोजगारीसँग जोड्न सकिने बताए ।

संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगरले मगर समुदायको कला, संस्कार र संस्कृतिको संरक्षणसँगै सम्बर्द्धनका लागि सम्बन्धित निकायहरुले विशेष जोड दिनुपर्ने बताए । नेकपा एमाले दाङ जिल्लाका उपाध्यक्ष मनोहर बुढाथोकीले यो संस्कार, संस्कृति र भेषभूषालाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्यले नेपालीहरुको संस्कृति उत्पादनसँग सम्बन्धित भएको बताए । संस्कार र संस्कृति राज्यका सम्पत्ति भएको भन्दै हरेक संस्कृतिलाई उत्पदनसँग जोड्न र त्यसको विकास गर्नका लागि स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

संघका वरिष्ठ उपाध्यक्ष मित्रलाल घर्तीमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी, घोराही उपमहानगरपालिका-६ का वडा अध्यक्ष विष्णु आचार्य नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टोपबहादुर घर्तीमगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, ढाङढुङे रोल्पाली सेवा समाजका अध्यक्ष नारायणप्रसाद रोका लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मगर सांस्कृतिक पहिचान झल्किने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । घोराहीको सहिद लखन थापा पार्कबाट निकालिएको सांस्कृतिक पहिचान झल्कने भेषभुषा, झाँक्रीसहितको ¥याली बजार परिक्रमा गरेर महोत्सव स्थलमा प्रवेश गरेको थियो । माघ ५ गतेदेखि ११ गते सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण संघका कार्यबाहक सचिव गणेश प्रताप पुनमगरले गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस