सुनिलस्मृती गाउँपालिका ६, गजुल दलंगाका ३३ वर्षीय शिक्षक तारानाथ थापाको सुतेकै अवस्थामा मृत्यु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आफ्ना विद्यालयका विद्यार्थीहरूलाई केही शिक्षकहरूसँगै लिएर सुलिचौरमा कोठा लिएर बसेका थापाको आज बिहान निधन भएको हो ।
थापा बिहान ३ बजेतिर उठेर फेरि ६ बजे उठ्ने भन्दै सुत्न गएका थिए । तर, उनी त्यसपछि उठेनन् । साथीहरूले बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उनलाई मृत अवस्थामा फेला पारिएको हो ।
इलाका प्रहरी कार्यालय सुलिचौरका इन्स्पेक्टर अरुण तामाङका अनुसार, मृतक थापाको शरीरमा कुनै प्रकारको चोटपटक देखिएको छैन । घटना शंकास्पद नभए पनि मृत्युको यकिन कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको छ । शवलाई पोस्टमार्टमका लागि तयारी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
तारानाथ थापाका बुवा दिलबहादुर थापाले छोराको असामयिक निधनले परिवार र गाउँमा ठूलो शोक परेको बताएका छन् । उत्कृष्ट शिक्षकका रूपमा चिनिएका थापाको निधनले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।