माघे पर्वको अवसर पारेर नेपाल मगर संघ घोराही नगर समितिले पर्यटन तथा सांस्कृतिक माघे मेलाको आयोजना गर्ने भएको छ ।
मगर समुदायको एक पर्वको रुपमा रहेको माघे संक्रान्ती पर्व लाई लक्षित गरि माघ ५ देखि ११ गते सम्म मेलाको आयोजना गर्न लागेको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि नगर समितिले जनाएको छ ।
नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रका सदस्य शारदा पुनको प्रमुख आतिथ्यतामा घोराहीमा समितीले पत्रकार भेटघाट गरि मेला बारे जानकारी गराएको हो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै पुनले मगर समुदायको रहनसहन र भेषभुषा लाई यसरी मेला महोत्सव मार्फत उजागर गर्नु मगर समुदायको लागि गौरवको विषय रहेको बताउनु भयो । यस्तो महत्त्वपूर्ण कार्यक्रमको लागि अग्रिम शुभकामना दिदै कार्यक्रमलाई हरेक वर्ष संचालन गर्न सबै मगर समुदायले गम्भीरता पुर्वक लाग्नु पर्ने बताउनुभयो ।
त्यस्तै नेपाल मगर संघ दाङका कार्यवाहक अध्यक्ष मुक्त बुढाले घोराही नगर समितिको यस कदम प्रति खुसी ब्यक्त गर्नुभयो । उहाले यस प्रकारको कामले मगर समुदायको सांस्कृतिक उत्थानमा महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै नगर समितिलाई कार्यक्रमका निम्ति धन्यवाद व्यक्त गर्नुभयो ।
समितिले घोराही उपमहानगरपालिका १४ स्थित झिगौरामा पर्यटन तथा सांस्कृितक प्रदर्शनी माघे मेला गर्न लागेको हो । समितिले मेलाको मुख्य आकर्षणको रुपमा मगर समुदायको भेषभुषा प्रदर्शनी मगर परिकारका साथै अन्य समुदायको भेषभुषा तथा परिकार राखिने जनाएको छ । त्यस्तै विभिन्न झाकि प्रदर्शन सहित उद्घाटन कार्यक्रम गर्ने र मेला अवधि भर चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने प्रचारप्रसार संयोजक कैलाश घर्ती मगरले जनाउनुभयो ।
शुक्रबार मगर संघ दाङको सभाहलमा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ घोराही नगर कमिटीका कार्यवाहक सचिव गणेस प्रताप पुनले गर्नुभएको थियो ।