जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रुन्टीगढी गाउँपालिका प्रथम भएको छ । २१ औ निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र रोल्पाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रुन्टीगढी गाउँपालिका प्रथम भएको हो । प्रतियोगितामा रोल्पा जिल्ला भित्रका आठ वटा पालिकाहरुको सहभागिता रहेको थियो । माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा २४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा द्वितीय माडि गाउँपालिका भएको छ । त्यस्तै तृतिय सुनिलस्मृति र सान्त्वना त्रिवेणि गाउँपालिका भएको आयोजकले जानकारी दिएको छ ।
राज्यको पुनरसंरचना पछि रोल्पामा यो पहिलो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको आयोजकको दावि छ । प्रतियोगितामा रुन्टीगढी गाउँपालिका, माडि गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, त्रिवेणी गाउँपालिका, परिवर्तन गाउँपालिका, थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले सहभागिता जनाएका थिए ।
रोल्पा नगरपालिका र ग्रंगादेव गाउँपालिकाले भने प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । कर्मचारी मिलन केन्द्र रोल्पाको आयोजना र रोल्पाली सेवा समाजको सह-आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार, तृतिय १० हजार र सान्त्वना पुरस्कार ५ हजार रहेको आयोजकले जानकारी दिएको छ । कर्मचारी मिलन केन्द्र रोल्पाका अध्यक्ष रोवर्ट महराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी रहनु भएको थियो ।
कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा, सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन, माडि गाउँपालिकाका उपाध्यक्षजयपुरी घर्ती लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमकै अवसरमा मिलन केन्द्र रोल्पाले शैक्षिक शत्र २०८० मा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान पनि गरेको छ । एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत गरि १३ जना विद्यार्थीहरुलाई सम्मान गरेको कर्मचारी मिलन केन्द्र रोल्पाले जनाएको छ । कर्मचारी मिलन केन्द्र रोल्पाले निजामति कर्मचारी सेवा दिवसको अवसरमा तिज मिलन कार्यक्रम, कविता प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरि सकेको छ । यो समाचार तयार पार्दा सम्म ब्यडमिन्टन प्रतियोगिता जारी रहेको छ । २० गते भोली फरक क्षमता भएका विद्यार्थीहरुलाई सम्मान र २१ गते उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको अध्यक्ष महराले जानकारी दिनु भएको छ।