नेपाल मगर संघ ४२ औ स्थापना दिवस दाङ घोराहीमा मनाइयो : मातृ भाषामा पठनपाठन गर्न माग

अधिकार प्राप्तिका लागि मगर समुदायलाई एकताबद्ध गर्न स्थापना गरिएको नेपाल मगर संघ  ४२ औ वर्षमा लागेको छ । संघको४२ औं स्थापना दिवसको अवसरमा मंगलबार दाङलगायत देशभर मगर समुदायले कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।

दाङका मगर समुदायले देशको व्यवस्था परिवर्तनमा मगर समुदायको योगदान रहेको स्मरण गराउँदै परिवर्तनको महसुस हुनेगरी समुदायका समस्या सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको आयोजनामा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै मगर अगुवाहरुले मातृभाषामै पठनपाठनको व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गरे । शिक्षाकै कारण सिंगो समुदाय पछि परेको भन्दै उनीहरुले मगर समुदायको भाषा संरक्षणका लागि पनि मातृभाषामा पठनपाठन गराउन आग्रह गरेका हुन् । मगर बाहुल्य रहेका क्षेत्रहरुमा मगर खाम भाषामै पठनपाठन गर्ने व्यवस्था गरे खाम भाषी बालबालिकाहरुलाई विषयवस्तु बुझ्न सजिलो हुनेमात्र नभई भाषा नजान्ने मगर समुदायलाई सिक्ने अवसर पनि हुने उनीहरुको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मगरहरुको मातृभाषामै पठनपाठन गर्न घोराही उपमहानगरले मगर संघसँग मिलेर पाठ्यक्रम निर्माणको तयारी थालिएको बताउनुभयो । घोराही क्षेत्र मगर र थारु समुदायको बहुल क्षेत्र हो । ‘मातृभाषाको संरक्षण र विद्यार्थीलाई मातृभाषामै पढ्दा सिकाइ उपलव्धि पनि हुन्छ’– नगर प्रमुख चौधरीले भन्नुभयो– ‘अघिल्लो वर्षदेखि थारु भाषामा पठनपाठन थालिसकेका छौं । अब मगर खाम भाषामा पठनपाठनका लागि मगर संघकै समन्वयमा काम थालिसकेका छौं ।’ उहाँले विभिन्न समुदायका भाषा, संस्कृति केवल समुदायका मात्र नभई राज्यका सम्पत्ति भन्दै त्यसको संरक्षण, प्रवद्र्धन गर्न स्थानीय सरकारले जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । मगर समुदायसँग भएको भाषा, संस्कृति, भेषभुषा राज्यकै सम्पत्ति भन्दै उहाँले संरक्षण र प्रवद्र्धन गर्न कार्यक्रम र बजेटको व्यवस्था गरिरहने बताउनुभयो ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथि एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुवास) ले देशमा परिवर्तनको जग हाल्ने मगर समुुुुुुुुुदाय भन्दै मगरहरुको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरले गरेको विद्रोहकै जगमा देशमा अहिलेसम्मका परिवर्तन सम्भव भएको बताउनुभयो । तर मगरहरुलाई विभिन्न नाममा फुटाउने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष पुनले जस्तोसुकै अवस्थामा पनि एकता प्रदर्शन गर्न सिंगो मगर समुदायलाई आग्रह गर्नुभयो । ‘मञ्चमा हुँदा एकताको कुरा गर्ने, मगर समुदायकै नेतृत्व स्थापित गर्दा विभाजित हुने मगर समुदायको प्रवृत्ति छ’– अध्यक्ष पुनले भन्नुभयो– ‘हाम्रो एकतावद्ध प्रयासले मात्रै सिंगो समुदायको हितमा काम गर्न सकिन्छ त्यसतर्फ सबै सचेत हुनुपर्छ ।’

सो अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष एवं दाङ इञ्चार्ज दर्जित बुढा मगरले मगर समुदायमाथि फूटाउ र राज गर को प्रवृत्ति अझै कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाल मगर संघ स्थापना दिवसमा समुदायलाई सार्वजनिक विदा दिन स्थानीय सरकारसँग माग गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले मगर समुदायको एकता दिवसकै रुपमा रहेको स्थापना दिवसमा एक दिन सार्वजनिक विदा दिनुपर्ने बताउनुभयो । भाषा, संस्कृति, भेषभुषा मात्र नभई राष्ट्रियता संरक्षणमा मगर समुदायको योगदान रहेको भन्दै उहाँले सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसकी प्रतिनिधि सुशीला गुरुङले मगर समुदायको पर्वको रुपमा रहेको स्थापना दिवसले सबैमा एकताको सन्देश दिने बताउनुभयो ।

नेपाल मगर संघ दाङका कार्यवाहक अध्यक्ष मुक्त बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सावित्रा राना, नेपाल मगर संघका निवर्तमान अध्यक्ष खलु पुन मगर, पूर्व अध्यक्ष जंगबहादुर पुन मगर, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका मगर, मंगोल नेशनल अर्गनाइजेशनका राजबहादुर घर्ती, मगर संघका सल्लाहकार भानसिंह बुढा मगर, दाङ उवासंघका सदस्य मीनबहादुर बुढाथोकीले शुभकामना व्यक्त गर्नुभएको थियो । संघका उपाध्यक्ष प्रेमबहादुर बुढा मगरले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सहसचिव नरेन्द्र बुढा मगरले गर्नुभएको थियो । सभा हुनुअघि बाजा, मगर भेषभुषासहितको झाँकीले घोराही बजार परिक्रमा गर्ेको थियो ।

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

नेपाल मगर संघ स्थापना दिवसको अवसर पारेर जिल्लामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गर्ने दुईजना छात्र, छात्रालाई पुरस्कार तथा चारजना छात्र छात्रालाई सम्मान गरिएको छ । नेपाल मगर संघका पूर्व अध्यक्ष एवं पूर्व ब्रिटिस आर्मी जंगबहादुर पुनले बुवा नन्दलाल र आमा सम्झना पुनको स्मृतिमा स्थापना गरेको पाँच लाखको नन्दलाल–सम्झना स्मृति अक्षयकोषबाट प्राप्त व्याज रकमले गुरुजजुर मावि रक्षाचौरकी ममता बुढा मगर र आदर्श मावि देउपुर देउखुरीका चूडामणि पुन मगरलाई जनही १६ हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । यस्तै बराहक्षेत्र मावि घोराहीकी दिपीका घर्ती मगर, आदर्श मावि देउपुरकी पूर्णिमा घर्ती मगर, मावि रझेनाकी रुक्मिणा पुन मगर र मावि अश्वाराका ओमविक्रम आले मगरलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा युगबोधकर्मी फोटो पत्रकार कुलदीप न्यौपानेलाई पनि मगर संघले सम्मान गरेको छ ।

यसैगरी संघलाई अगाडि बढाउन योगदान गरेको भन्दै मगर संघ दाङका निवर्तमान अध्यक्ष खलुप्रसाद पुन मगर, पूर्वअध्यक्षहरु सतबहादुर रोका मगर, कीर्तिमान पुन मगर, जीतबहादुर पुन मगर, चन्द्रबहादुर पुन मगर, जुनीप्रसाद पुन मगर, जंगबहादुर पुन मगर, सल्लाहकार भानसिंह बुढा मगरलगायत मगर संघलाई सहयोग गर्ने सहयोगी दाता, पालिकास्तरीय मगर संघका कमिटीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस