
‘शान्तसँग मेहनत गरे सफलताले हल्ला गर्दो रहेछ ।’ ७ पटक लोकसेवा आयोगमा नाम निकालेकी खुशी बुढामगरले यसरी आफ्नो मेहनतलाई सम्झिन्छिन् ।
परिवर्तन गाउँपालिका वडा नम्बर ४ रोल्पा घर भएकी मगर हाल बर्दघाट नगरपालिका नवलपरासीमा कार्यरत छिन् । उमेरले २१ वर्ष मात्रै कटेकी उनी मत्स्य प्राविधिक पदमा कार्यरत छिन् । उनी यसअघि नायब पशु स्वास्थ प्राविधिकको रुपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखामा काम गर्थिन् ।
एकै वर्षमा ७ पटक लोकसेवा पास गर्न सजिलो नभएको बताउने उनले आफ्ना संघर्षका दिनहरु सम्झिएकी छिन् । राप्ती टेक्निकल कलेज लालमतिया दाङबाट ३ वर्षे पशुविज्ञान पढेकी उनले पासआउट हुनुअघि नै सरकारी जागिर खाने निधो गरिसकेकी थिइन् । त्यसैले नतिजा आउनुअघि नै उनले आफ्ना दिदीहरुले पढेका नोट अध्ययन गर्न सुरु गरिन् । उनले लोकसेवा आयोगको एउटा तयारी कक्षा पनि लिइन् ।
पासआउट हुनेबित्तिकै अझ मेहनत गरेकी उनी पहिलोपटक जाजरकोटमा पदस्थापना भएर गएकी थिइन् । त्यसपछि पनि उनले लोकसेवा पास गरेपछि हाल कार्यरत बर्दघाट नगरपालिका नवलपरासीमा काम गर्न पुगिन् । तर, उनले यही आफ्नो यात्रा टुंगाइनिन् । अझ मेहनत गर्दै गर्दा थप ५ ठाउँमा नाम निकाल्न सफल भइन् ।
उनका अनुसार सुरुमा बैशाखमा उनले कर्णाली प्रदेशले लिएको परीक्षाको पाँचौं तह लिखितमा नाम निकालेकी थिइन् । त्यसपछि जेठमा कर्णाली प्रदेशकै चौथो तहमा नाम निकालेर कुशे गाउँपालिका जाजरकोट गइन् । त्यसपछि खुसीले लुम्बिनी प्रदेशको पाँचौं तहमा र लुम्बिनीकै स्थानीय तहको परीक्षामा नाम निकालिन् । पाचौंपटक उनले सुदूरपश्चिममा पाँचौं तहमा नाम निकालेकी थिइन् । यस्तै छैठौंपटक कोशीको चौथो तह र सातौंपटक संघमा नाम निकालेको उनले बताइन् । संघीय लोकसेवाले यहि ९ गते अन्तर्वार्तामा बोलाएको बताउने खुशीले सफल भए संघीय सरकारअन्तर्गत नै रहेर काम गर्ने इच्छा व्यक्त गरेकी छिन् ।
बुवाआमा खेती किसानी गर्ने भएकाले धेरै संघर्ष गरे आफू यहाँसम्म पुगेको उनले बताइन् । ‘घरमा एकजना दाजु हुनुहुन्छ । त्यसपछि हामी ६ जना दिदीबहिनी छौं’ उनले भनिन्, ‘दाजु सरकारी जागिरे भएकाले उहाँबाटै म प्रेरित भएको थिए ।’ उनका अनुसार ७ मध्ये एकदाजु र तीन बहिनी निजामती कर्मचारीको रुपमा कार्यरत छन् भने बाँकी तीन बहिनी करारमा कार्यरत छन् ।
‘म २०७९ मा पास आउट भएको थिएँ । तर, नतिजा आउनुअघि एउटा तयारी कक्षा लिए । दिदीहरुका नोट पढ्ने गर्थे’ उनले भनिन्, ‘आफूले पढने विषयलाई विभिन्न सम्झिने फर्मुला बनाएर याद गर्थे । मेरो सफलताको पछाडि मिहेनतसँगै आमाबुवा र दाजुदिदीको हात छ ।’