नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको वैठकको निर्णयबाट सुरु गर्ने भनिएको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ रोल्पामा पनि सुरु भएको छ । रोल्पामा पनि उक्त अभियान सुरु भएको प्रेस सेन्टर नेपाल रोल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलन गरेर नेकपा (माओवादी केन्द्र) रोल्पाले जानकारी दिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को लागि रोल्पा जिल्लाको इन्चार्जको रुपमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ केन्द्रीय सदस्य पुर्ण घर्तिमगरलाई खताएको छ । साथै पार्टीले प्रतिनिधिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य आइपी खरेल र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्णा केसी लाई पठाएको नेकपा(माओवादी केन्द्र) रोल्पाले जानकारी दिएको छ ।
माओवादी पार्टीले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को लागि रोल्पा जिल्लाको इन्चार्जको रुपमा आउनुभएका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ केन्द्रीय सदस्य पुर्ण घर्तिमगरले पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै रोल्पा जिल्लामा रहेका सबै पालिकाका सबै वडा तथा टोलटोलमा माओवादी नेताकार्यकर्ता माझ पुगी जनताका गुनासा सुन्ने, माओवादी पार्टी प्रतिको जनताको धारणा के छ बुझ्ने बताउनु भयो । माओवादीको यो अभियान विशेष गरेर पार्टीको आन्तरिक संगठनलाई बलियो बनाउने, पार्टीमा नयाँ सदस्यता थप्ने बताउनु भयो । रोल्पा जिल्ला दश वर्षे जनयुद्धको विशेष प्रभावित क्षेत्र भएकाले सहिद परिवार, घाइते, अपाङ्गतासँग पनि अन्तरक्रिया गरि गुनासो सुन्ने बताउनुभएको थियो । माओवादी केन्द्रले थालेको यो अभियानले विशेष गरेर जनताकै अपेक्षालाई सम्बोधन गरेर जनताको चाहना अनुसार पार्टीको कमजोर पक्षलाई सुधार गर्नुपर्ने बताउनुभएको छ ।
हिजो बुधबार सदरमुकाम लिबाङमा बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको छैठौँ पूर्ण बैठकले जिल्ला भित्र अभियान सञ्चालनका लागि केन्द्रीय सदस्यहरु लगायतका नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकले सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकामा केन्द्रीय सदस्य सुरेन्द्र थापा, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकामा केन्द्रीय सदस्य आसबहादुर पुनमगर, रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा केन्द्रीय सदस्य कृष्णा केसी, माडी गाउँपालिका र गंगादेव गंगादेव गाउँपालिकामा सीता आचार्य, परिवर्तन गाउँपालिका र थबाङ गाउँपलिकामा केन्द्रीय आइपी खरेललाई जिम्मेवारी प्रदान गरेको नेकपा माओवादी केन्द्र रोल्पाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पत्रकार सम्मेलन कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाको आयोजनामा गरिएको थियो । पत्रकार सम्मेलन कार्यक्रम प्रेस सेन्टर नेपाल रोल्पाका अध्यक्ष देवी गुरुङको अध्यक्षता भएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ केन्द्रीय सदस्य पुर्ण घर्तिमगर, विशिष्ट अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य आइपी खरेल रहनुभएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्णा केसी, सिता आचार्य, वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्तिमगर, आस बहादुर बुढामगर, नेकपा (माओवादी केन्द्र) रोल्पाका संयोजक पुर्ण केसी, पार्टीका अन्य पदाधिकारीहरु, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर, सचिव लोकेन्द्र चन्द, सस्थापक सभापति काशिराम डाँगी, पुर्व अध्यक्ष खेम बुढामगर लगाएत विभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकार लगाएतको सहभागीता रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल रोल्पाका सचिव भरत नेपालीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार