रोल्पा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रोल्पा नगरापालिकाको बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम आज बुधबार उद्योग वाणिज्य संघ रोल्पाको सभाहलमा सम्पन्न भएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा वार्षिक रुपमा सम्पन्न भएका विकास योजना, बिभिन्न कार्यक्रम र अन्य सेवा प्रवाह, लगाएत समग्र कार्यको बारेमा बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको रोल्पा नगरपालिकाले बताएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आ.ब. २०७९/०८० को नगरपालिका बाट भएका विकास योजना, बिभिन्न कार्यक्रम अन्य सेवा प्रवाह आदिको वार्षिक प्रगति प्रतिवेदन नगर प्रमुख सुरेन्द्र थापा घर्तिले गर्नुभएको थियो ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले नगरपालिकाले विशेष रुपमा शिक्षा, कृषि, पर्यटन र पुर्वाधारको विकासलाई जोड दिएको बताउनुभएको छ । नगरपालिकाले नगरलाई कृषि तर्फ एक वडा एक कृषि उत्पादन पकेट क्षेत्रको रुपमा कार्यक्रम लाई जोड दिएको बताउनुभएको छ । व्यवसायिक कृषकहरुलाई उत्साहित गर्न तरकारी उत्पादनमा अनुदान र निःशुल्क ढुवानीको व्यवस्था गरेको नगर प्रमुखले बताउनुभएको थियो । नगरपालिकाले वडा ३ र ४ लाई दुध पकेट क्षेत्रको रुपमा विकास गरेको बताउनुभएको छ ।

नगरपालिकाले एसईई परीक्षा उर्तीण पश्चात प्राविधिक शिक्षा अध्ययन गर्न चाहने ४८ जना विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गरी विभिन्न शिक्षालयहरुमा अध्ययन गराएको बताउनु भएको छ ।
नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रर्वधनको लागी चुनारे क्षेत्र र सातदोवाटो रक गार्डेन, जनयुद्ध स्मृती भ्यु टावरको स्तरउन्नती र व्यवस्थापन मार्फत पर्यटन विकास र आर्थिक उत्पादनमा सहयोग पुगेको लगाएतका विषयवस्तुहरु प्रस्तुत गर्नुभएको थियो ।

रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तिमगरको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ रोल्पाका निर्बतमान अध्यक्ष महेश न्यौपानेले गर्नुभएको थियो ।

रोल्पा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक कार्यक्रमको सञ्चालन नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र पराजुलीले गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरिकहरु बाट उठेमा प्रशन एंव जिज्ञासाहरुको जवाफ नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तिमगर, उपप्रमुख गिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, रोल्पा नगरपालिका निबर्तमान प्रमुख प्रसासकिय अधिकृत एंव बर्तमान नरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र पराजुली लगाएतले जबाफ दिएको थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, नगरपालिका भित्रका १० वटै वडाका वडा अध्यक्षहरु, जिल्ला स्थित बिभिन्न सरकारी गैरसरकारी कार्यालयाका प्रमुख प्रतिनिधी, नगरपालिका भित्रका कर्मचारी, नगरपालिका बिभित्रका बिभिन्न शाखाका कर्मचारीहरु,जिल्ला क्रियाशिल बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार,नगरपालिका भित्रका सेवा ग्राही आम नागरिकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस