
प्रस्तावित शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेकका विरुद्ध सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल रोल्पाले आज ज्ञापन पत्र वुझाएको छ । महासंघले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्रीलाई र शिक्षा विकास तथा समन्वय ईकाइ मार्फत शिक्षा मन्त्रीलाई ज्ञापन पत्र वुभाएको हो । प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई वुझाएको ज्ञापन पत्रमा मन्त्री परिषदमा विचाराधिन विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनै पनि सरोकाररवालाहरुसँग छलफल र परामर्श विना नै तयार गरेको महासंघले असन्तुष्टी जनाएको छ ।
ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे र शिक्षा विकास तथा समन्वय ईकाईका निमित्त कार्यालय प्रमुख उत्तरकुमारी चौधारीलाई वुझाइएको महासंघले जनाएको छ ।
विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता, संलग्नता र भूमिका नरहने गरी विधेयक मस्यौदा तयार भएको बुझिएकोले उक्त विधेयकको व्यवस्था प्रति सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको गम्भिर ध्यानाकर्षण भएकोले आफुहरुले ज्ञापन पत्र वुझाउन लागेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ रोल्पाका अध्यक्ष नमवहादुर विकले जानकारी दिनु भयो ।
वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्म माथि प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकार माथि हस्तक्षेप भएको अध्यक्ष विकले भन्नु भयो । सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिए र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने देखिन्छ विकले भन्नु भयो ।
अभिभावकको श्रम, स्रोत र अगुवाइमा स्थापना भएका सबै सामुदायिक विद्यालयहरुको स्वामित्व अभिभावकमा निहित छ र हुनुपर्छ । आफ्ना बालबालिका पठनपाठन गर्ने विद्यालय कसरी चल्छ ? र कसले चलाउँछ ? भन्ने अभिभावकको चासो स्वभाविक हो अध्यक्ष विकले भन्नु भयो । आफ्ना भविश्यसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने विषयमा अभिभावक सहभागिता र संलग्नताको विषय प्राकृतिक न्यायको विषय हो विकले भन्नु भयो ।
विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको स्वामित्व र अभिभावकको नेतृत्व स्थापित गर्ने गरी माग पत्र पेश गर्ने तयारी गरेका छौ विकले भन्नु भयो । ज्ञापन पत्र वुझाउने कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्विनी प्रदेश सचिव महेश न्यौपाने, सामुदायिक विद्यालय व्यवस्थापन समिति महाहसंघ रोल्पाका अध्यक्ष नमवहादुर विक, सदस्य जीतवहादुर डाँगी लगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
महासंघले आज आवह्वान गरेको ज्ञापन पत्र वुझाउने कार्यक्रम लुम्विनी प्रदेशका सवै जिल्लामा सम्पन्न भएको लुम्विनी प्रदेशका सचिव महेश न्यौपानेले जानकारी दिनु भयो ।