रोल्पा बस दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई राहत दिन नेता पुनको आग्रह

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ४ जनाको ज्यान जानेगरी रोल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत पुनले आफ्नो गृहजिल्लामा दुर्घटनामा ठूलो मानवीय क्षति भएको घटनाले आफू मर्माहत भएको बताएका छन्। उनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतक परिवारप्रति समवेदना व्यक्त गरे।

पुनले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्लाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन्। उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन्।

पुनका सचिवालयका अनुसार उनले रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन्। रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार दुर्घटनामा परेको थियो।

दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो । दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन्। प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस