पुस १,१४ फागुन ७ २०४७ सालभन्दा अगाडि धुमधाम मनाइन्थ्याे। ति दिनहरु अनुशासित थिए। यद्दपी पद्धति निरंकुश थियो। त्यसैले होला शासकका धेरै कुरा बाहिर जनताले थाहा पाउँदैन थिए।अहिलेको जस्तो सूचनाको पहुँच पनि थिएन । प्रजातन्त्रका समर्थकहरु ति पर्वहरूको भित्रभित्रै विरोध गर्थे। तर, नेपालका राजाहरु त्यति निरंकुश थिएनन । जति अहिले व्याख्या गरिन्छ। शासनप्रति जनताको अटुट आस्था थियो । झाँकी गाउँगाउँबाट निस्किन्थ्यो । स्वतःस्फूर्त मानिस टुडिखेलमा जम्मा हुन्थे।राजाको फोटो हेर्दा मात्र पनि आस्था जाग्थ्याे। यो आस्था सोझा जनताकाे आस्था मात्र थिएन। कमसेकम जनतामा देशको अनुभूति थियो । म देशमा छु । र मलाई देशले संरक्षण गरेको छ भन्ने पूर्ण विश्वास थियो । मरिचमान सिंह श्रेष्ठ, सुर्य बहादुर थापाका भाषण सुन्दा जिउ जिरिङ्ग हुन्थ्यो। उनीहरु खुलारुपमा जे भन्थे त्यही गर्थे । जनताको इज्जत थियो । २०४७ सालपछि राजनीतिक दलहरूले जनतामा त्यो आस्था जोगाउन सकेनन्। आज गणतन्त्र दिवसको दिन । जुन आस्था पञ्चायतले दिन सक्यो। त्यो आजपनि स्वप्नील जस्तै लाग्न थाल्छ। यथार्थ तितो हुन्छ तर सत्य यहि हो ।
प्रजातन्त्रमा परिवारबाद फस्टायो । पंचायत शासनमा जसको बिरोध नेताहरुले गर्थे । आज त्यसैमा उनीहरु चुर्लुम्म डुबेका छन । नाताबाद यति बढ्यो कि यो बिना कामै हुँदैन ।भ्रष्टाचारका कुरा त भन्नै परेन। पशुपतिनाथको जलहरी सम्म बाँकी रहेन। जहाँ विश्वमा रहेका नेपालीहरूको अटुट विश्वास छ ।यही पशुपतिनाथको आशिर्वाद विश्वका हिन्दूहरु, र नेपालीमा छ। यसलाई जीवनको अभिन्न अङ्ग नै मान्छन् नेपालीहरु । पशुपतिनाथको जलहरीमा भ्रष्टाचारको प्रश्न उठ्नु शासनमा जनताको आस्था टुट्नु हाे । सार्वजनिक खरिद-बिक्रीका बिषयमा भ्रष्टाचार छताछुल्ल छ । राजदूतको नियुक्तिदेखि सबै राजनीति नियुक्तिमा योग्यता र तटस्थता देखिँदैन। अदालतले जन्मकैद दिएको महिनादिन पनि नपुग्दै सरकारले आममाफी दिन्छ । कमसेकम जनताकाे भावना र न्यायकाे सम्मान त गर्न सकिन्छ । अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको इज्जत रहेन । हामीले श्रीलंकामा नेताहरूको दोहन मिडियामा देखिसकेका छौं ।आज सीएनएन, अलजजिरा ,बीबीसीले नेपालको भ्रष्टाचारलाइ उदांगो पारेर देखाउँदैछन् । अन्तराष्ट्रिय स्तरमा नेपाल भ्रष्टाचारी देश देखिएको छ। सानातिना अनियमितता र राजनीतिक घुसपेठ जुनसुकै देशमा हुन्छ तर जुन कुरा नभइदिए देखि हुन्थ्यो भनेर जनताले पुकार गर्छन् । शासकहरु त्यही गर्छन् । मानौं रोम जलिरहेछ निरो बाँसुरी बजाई रहेछ।
हामी यही राजनीतिक अवस्थामा गणतन्त्र दिवस मनाउँदैछौ। आज कुनैपनि नेपाली जनताहरु उमंगका साथ गणतन्त्र दिवसको दिन दीपावली गर्दैनन् ।झाँकी निकाल्दैनन। यो विषय सुखद होइन। हामी दुःखद परिस्थितिबाट गुज्रिरहेका छौ। शासनमा अस्थिरता आयो भने हामी कोही पनि सुखी हुँदैनौ। हामीले चुनेर पठाएका नेताहरूमा याे चेत नआउनु सबैभन्दा दुःखको कुरा हाे । किनकि प्रजातन्त्र जस्तो आस्थाको राजनीति संसारमा अरु छैन। प्रजातन्त्रलाई स्वार्थबाट शासन गर्दा पाकिस्तान, अफगानिस्तान सुडान, इथोपिया कस्तो अवस्था छन हामीले बुझेकै छौं ।त्यसैले आज गणतन्त्र दिवसकाे दिन हामीले यो सोच राख्नैपर्छ कि हामी एउटा असल शासन प्रणालीको हिमाइती हौ। यसभित्र जनताको सम्मान हुन्छ। र जनताले पठाएका नेताहरुले जनताको हित र इज्जतका लागि काम गर्छन् भन्ने विश्वास अटुट हुनुपर्छ ।। तर राजनीतिक दल र शासकहरुले जनताको विश्वासमाथि शासन गरे। विश्वास जित्न सकेनन्। जो सहिद भए ।जसले आन्दोलनमा सहादत प्राप्त गरे। आन्दोलन र माओवादी युद्धमा जाे अपाङ्ग , घरबारविहीन भए, तिनीहरूकाे सम्मान गणतन्त्रले गर्न सकेन। त्यसैले गणतन्त्रप्रति जनताको आस्था टुटेको छ।
२०४७ सालपछि एकात्मक र संघात्मक दुई प्रणालीको अभ्यास हामीले गरिसक्यौ ।संवैधानिक राजतन्त्रबाट गणतन्त्र र समावेशी शासनले सबै वर्गको पहुँच शासनमा पुर्याएको पनि छ। तल्लो स्तरसम्म प्रजातन्त्रको अभ्यास भएको छ। सबैप्रकारका अभ्यास हामीले गरि सक्यौ। तर शासन र संरचनालाई सस्थागत गर्ने कुनै दुरदर्शी नेतृत्व हामीले पाउने सकेका छैनौ ।जुन जोगी आए कानै चिरेका। त्यसैले शासनप्रति होइन शासक प्रतिको हाम्रो विश्वास टुटेको छ ।आस्था टुटेको छ । शासकहरूको अनुहार देख्दा गणतन्त्र बन्धकमा परे जस्तो लाग्न थालेको छ । हामी प्रजातन्त्रका हिमायती हौ। गणतन्त्र दिवसका पुजारी हौ। यि शासक, नेता राजनीतिक दलहरूको कुकर्मले हाम्रो अन्तर्राष्ट्रिय छवि धुमिल भएको छ ।यिनीहरुले हाम्रो आस्थामा प्रहार गरेका छन्। एउटा सच्चा नेपाली यसबाट रमाउन सक्दैन ।
हामीलाई गणतन्त्रमा विश्वास छ ।हाम्रो आस्था र विश्वास जित्ने नेता चाहिएको छ । हामी गणतन्त्र दिवस ,प्रजातन्त्र दिबस, नेताहरूको जन्मदिवस मनाउन तयार छौ। तर कसैको व्यक्तिगत हित र स्वार्थको लागि यो सम्भव छैन। हामीलाई पञ्चायतको जस्तै प्रजातन्त्र दिवस मनाउन मन छ। तर हामीले पंचायत चाहेको हाेइन। जनता, नेता र सबै एकै ठाउँमा बसेर उमङ्गका साथ गाउँ गाउँबाट झाँकी निस्केको हेर्ने रहर हामीसँग थुप्रै छ ।