ग्रेटर नेपालको नक्सा लिङदेनलाई घाँडो

काठमान्डौं,

२०१९ को नोभेम्बर २ मा इन्डियाले उसको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेख समावेश गरेपछि तत्कालीन संसदमा भएको छलफलमा इन्डियाले सुगौली सन्धि मान्दैन भने नेपालको सिमाना पश्चिमतर्फ सतलजसम्म पुग्छ भनेर नेपाली जनताबाट प्रशंसा कमाएका तत्कालीन राप्रपाका तर्फबाट एकमात्र सांसद् राजेन्द्र लिङदेन अहिलेको प्रतिनिधि सभामा चौथो ठूलो दलको नेतृत्व गर्ने हैसियतमा पुगेका छन् ।

तिनै माननीय राजेन्द्र लिङदेनको त्यो राष्ट्रवादी छविबाट आकर्षित भएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल पुस २७ गते पृथ्वीजयन्तीका दिन राप्रपाले काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा लिङदेनलाई ग्रेटर नेपालको नक्सा दिन हौसिएर पुगे ।

नक्सा दिन मञ्चमा पुगेपछि नेपालले पहिले त्यो नक्सा खोलेर ठूलो संख्यामा उपस्थित पत्रकारहरूलाई देखाएपछि राम्रैसँग ताली बज्यो । त्यसपछि नेपालले लिङदेनलाई नक्सा दिने क्रममा उनले तत्कालीन संसदमा बोलेका कुरा संझाउन के खोजेका थिए लिङदेनले नेपाललाई सुन्न नचाहेको सङ्केत गर्दै भयो भयो भने । लिङदेन कुरा सुन्न अनिच्छुक देखिएपछि नेपालले उनलाई अप्ठ्यारोमा किन पार्नु भनेर ग्रेटर नेपालको नक्सा दिए ।

नक्सा दिनुअघि अत्यन्त उत्साहित नेपाल नक्सा दिएपछि खिन्नतापूर्वक त्यहाँबाट निस्किएर साथीभाइसँग भन्दै थिए, म त राजेन्द्र लिङदेनको हलुवामा बालुवा बन्न आइपुगेछु । सत्तामा रहेका र सत्तामा जान चाहने दुवैका निम्ति ग्रेटर नेपाल बाटाको काँडो बनेको रहेछ ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस