‘गठबन्धन डर र कर दुवै हो’: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन बाध्यता भएको बताएका छन् ।

प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आइतबार पौडेलले अहिलेको अवस्थामा गठबन्धन बाध्यता भएको स्पष्ट पारेका हुन् ।

आफूहरुले गठबन्धन नगरे अरु पार्टीले गठबन्धन गर्ने भएकाले बाध्यता भएको स्पष्ट पारेका हुन् । पौडेलले गठबन्धन डर पनि रहेको बताए । ‘काँग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो, पौडेलले भने ।’

एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए ।

गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस