
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–१ वा काठमाडौं–५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको बताइएको छ ।
कांग्रेस महामन्त्री नै त्यही क्षेत्रबाट उठ्छु भन्नु भयो भने राम कार्कीलाई अर्को क्षेत्र छुट्याउने तयारी भएको कांग्रेसका एक शीर्ष तहका नेताले बताए । उनले राम कार्कीलाई रामेछापको पनि चर्चा भएको र शर्माले अन्यत्र रोजे भने त्यहाँ गठबन्धनबाट अर्को उम्मेदवार बन्ने उनको भनाइ छ । शर्माले काठमाडौं–५ मा पनि इच्छा देखाएको उनी निकट एक नेताले जानकारी दिए ।
काठमाडौं ५ मा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र नैनसिंह महरले पनि रुचि देखाएका छन् । शर्माले काठमाडौं–५ मा उठ्ने निर्णय गरे भने पौडेल वा महर पछि हट्नुपर्ने कांग्रेस नेताहरु बताउँछन् । शर्माको पहिलो रोजाइ गृह क्षेत्र झापा १ नै रहेको भए पनि काठमाडौं ५ बाट उठ्नुपर्छ भनने उनीमाथि दबाब पनि आउन थालेको उनले बताए ।
२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेका थिए । सो निर्वाचनमा कांग्रेस नेता डा. प्रकाशशरण महतलाई एमालेका पोखरेलले हराएका थिए । महतले प्रतिस्पर्धा गर्नुअघि यस क्षेत्रमा नेता नरहरि आचार्यले पोखरेललाई हराएका थिए । एमालेका ‘हेभिवेट’लाई पराजित गर्न कांग्रेसबाट पनि ‘हेभिवेट’ नै उम्मेवार उठाउनका लागि शर्माको नाम उक्त क्षेत्रमा चर्चा चलेको छ ।
झापा १ र काठमाडौं ५ दुबै क्षेत्रमा गत निर्वाचनमा एमाले पहिलो शक्तिको रुपमा रहेको थियो ।