सांसद रेनुका गुरुङले भनिन् मेरो घरमा बम पड्काइयो, परिवारसहित मेरो सुरक्षा गरियोस्

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गरिन् ।

‘हिजो राति ८ः२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्कायो,’ उनले भनिन्, ‘घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ । दुईजना लोग्ने मान्छे मोटर साइकलमा गएको देखेँ । तर, अँध्यारो भएकाले चिन्न सकिनँ ।’

घटना भएपछि आफूले महाराजगञ्ज प्रहरी र गृहमन्त्रीलाई फोन गरेको भन्दै उनले प्रहरी आइसकेपछि आँगनमा आएर हेर्दा रकेट बमको खोल भेटिएको बताइन् ।

आफू सांसद र पूर्वराज्य मन्त्री रहेको भन्दै उनले आफू र आफ्नो परिवारको सुरक्षार्थ राज्यमन्त्रीले पाउने अनिवार्य पीएसओ उपलब्ध गराउन माग गरिन् ।

प्रहरीले भने गुरुङको घरमा बम नभई पटका पड्किएको पाइएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस