रोल्पाको थवाङमा भूमे पर्वको रौनक

काठमाडौं,रोल्पाको थवाङमा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिन्छ ।

असार १ गतेदेखि ५ गतेसम्म यो पर्व मनाउने चलन रहँदै आएको छ । भूमे पर्वको उपलक्ष्यमा थवाङ गाउँपालिकाले असार १ र २ गते सार्वजनिक बिदा दिएको छ ।

भूमे पर्व अगावै गाउँका युवायुवती जलजलामा फूल लिन जाने गर्दछन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । भूमे पूजा अगावै जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ ।

असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ भनिन्छ ।

यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ विगतमा मगरहरुले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् ।

मगर बहुल क्षेत्रमा विशेष पर्वका रुपमा मनाइने यस पर्व रोल्पाका जेल्वाङ, कुरेलीलगायतका स्थानमा समेत मनाइए पनि थवाङमा भने विशेष रुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस