परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०७८,७९ को ११ औं गाउँसभा तथा हिउँदे अधिवेशन गाउँपालिका कार्यालय पुतलाचौरमा सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको अध्यक्षतामा भएको हिउँदे अधिवेशनमा ६ ओटै वडाका वडा अध्यक्षहरु,६ ओटै वडाका सदस्यहरु तथा परिवर्तन गाउँपालिकामा कार्यरत कर्मचारीहरुको आतिथ्यता रहेको थियोे।
परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हित कुमारी बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनमा सामाजिक शाखा संयोजक तथा परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढामगरले शिक्षा र स्वास्थ्य प्रगति प्रतिवेदन, आर्थिक शाखा संयोजक तथा परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुनमगर कृषि प्रगति प्रतिवेदन, पूर्वाधार विकास शाखा संयोजक तथा परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष सुक बहादुर बुढामगरले भौतिक तथा सडक निर्माण प्रगति प्रतिवेदन, विपद व्यवस्थापन समिति संयोजक तथा परिवर्तन गाउँपालिका ६ का वडा अध्यक्ष भानसिङ बुढामगरले विपत व्यवस्थापन, चुनौती सहितको प्रगति प्रतिवेदन, सुशासन तथा संस्थागत समिति संयोजक तथा परिवर्तन गाउँपालिका ३ का वडा अध्यक्ष झपिराम डाँगीले प्रगति सुशासन प्रतिवेदन, विधायन समिति संयोजक तथा परिवर्तन गाउँपालिका ४ का वडा अध्यक्ष दल बहादुर बुढामगरले विधेयक निर्माण तथा कार्यपालिका प्रगति प्रतिवेदन पेस गरेका थिए।