भित्राउन ठिक्क पारिएको धान खेतमै डुब्यो, दाङ देउखुरीका किसान चिन्तित

अविरल वर्षाका कारण धान खेतमै डुबेपछि दाङका किसानहरु चिन्तित भएका छन् । दाङ देउखुरी क्षेत्रको अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ ।

देउखुरी क्षेत्रमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ ।

खेतमा काटेर राखेको धानमा आइतबार दिउँसोदेखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको दाङ देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी निवासी सुदय चौधरीले बताए । उनका अनुसार गंगदी खोलाको बाढीले बगर क्षेत्रमा करिब ४० देखि ५० विघा क्षेत्रफलमा काटेर राखेको धान बगाएको बताए । ‘दशैं लगत्तै धमाधम धान भित्राउने तयारीमा रहेका थियौं तर, एक्कासी आएको अविरल वर्षाले सबै धान खोलाले खायो,’ चौधरीले भने ।

लमही नगरपालिका वडा नम्बर ३ मजगाउँका किसानहरु पनि खेतमा काटेर राखेको धान पानीले भिजाएपछि चिन्तत बनेका छन् । दाउनको लागि ठिक्क पारेर राखेको धान पानीले भिजाएको छ । त्यो भिजेको धान दाउनुअघि फेरि सुकाउनु पर्ने भएको छ । यसबाट कामको बोझ बढेको त छ नै पानी परेको धान मक्किने र गाईबस्तुलाई खुवाउने पराल कामै नलाग्ने हुँदा किसान मर्कामा परेका छन् ।

स्थानीय कृषक छविलाल कोपिलाले भने, ‘मजगाउँमा मात्रै ४० देखि ५० विघा खेतमा लगाएको धान पानीले भिजाउँदा नोक्सानी भएको छ । आइतबार मात्रै खेतमा धान काटेर रास लगाइएको थियो । अहिले सबै धान भिजेको छ ।’

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी आगनु चौधरीले करिब दुई विघा खेतमा लगाएको आफ्नो धान नोक्सानी भएको बताए । ‘अरुलाई दशैं लागिरहेको छ, हामीलाई दशा लाग्यो, वर्षभरि खाने अन्न सबै भिज्यो,’ उनले भने ।

खेतमा काटेर राखेको धान पानीले भिजाएपछि दाङ सहित देशैभरका कृषकहरु मर्कामा परेका छन् । दाङका विभिन्न भेगमा काटेर उठाउने तयारीमा रहेको सयौं विगाहाको धान पानीमा डुबेको किसानहरुले बताएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणी पौडेलले कृषि कार्यालयमा धान नोक्सानीको विषयमा कुनै पनि तथ्यांक नरहेको बताए । तथ्यांक संकलनको लागि स्थानीय तहमा खबर पर्याएको बताउँदै उनले अहिलेसम्म कतैबाट पनि तथ्यांक नआएको बताउनुभयो । ‘पानीले धानमा नोक्सानी भएको होला तर स्थानीय तहरुबाट अहिलेसम्म हामीले आधिकारीक तथ्यांक पाएका छैनौं,’ पौडेलले भने ।

दाङमा गत वर्ष ३७ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यो वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस